२० घण्टा लगाएर खुलाइएको कालीगण्डकी करिडोर फेरि अवरुद्ध


२७ श्रावण २०८०, शनिबार
Pahiro kaligandaki karidor baglung scaled

बागलुङ । भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो ।

शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताए ।

उनका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन् । दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

‘पहिरोले निकै दुःख दिइरहेको छ । करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौं नागरिक प्रभावित बनेका छन्’, उनले भने, ‘यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम सुरु भएको छैन ।’ पहिरोले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७