बर्खामा पनि कालीगण्डकी नदीको दोहोन, तत्काल उत्खनन् रोक्न माग


२८ श्रावण २०८०, आईतवार
kaligandaki 1
kaligandaki savyata

पर्वत । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् ।

शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तरक्रियामा सहभागीले नेपालमा मात्र नभई विश्वमै कालीगण्डकी नदीको छुट्टै पहिचान र विशेषता रहेको तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको सभ्यता जोगाउनु पर्ने बताएका छन् । नदीको पर्यावरणीय संरक्षण र यहाँको प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, पर्यावरण नखलबल्लिने गरी नदीजन्य पदार्थ उपयोग गर्नुपर्ने जस्ता विभिन्न विषयमा चर्चा–परिचर्चा गरिएको हो ।

कालीगण्डकीको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले कागवेनीबाट त्रिवेणीधामसम्मको कालीगण्डकीको सभ्यता जोगाउनका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिए । धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं पर्यटकीय र पर्यावरणीय हिसाबले समेत उत्तिकै महत्वपूर्ण रहेको कालीगण्डकी नदी र शालग्राम शिला सङ्कटमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको संरक्षण तथा विकासका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताए ।
उनले कालीगण्डकीको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आयोजना गरिएको बताए ।

कार्यक्रममा प्राध्यापक डा. जगन्नाथ रेग्मीले कालीगण्डकीको अस्तित्व जोगाउन नसके मानव जीवन नै सङ्कटमा पर्ने बताए । जन्मेदेखि मृत्युपर्यन्त आवश्यक गण्डकीको जल संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा उनको जोड छ । पछिल्लो समय अवैधरूपमा भइरहेको नदीजन्य वस्तु उत्खननले कालीगण्डकी र शालिग्राम शिला सङ्कटमा परेको जनाउँदै यस्तो गैरकानुनी कार्य तत्काल रोकिनुपर्नेमा जोड दिए । कालीगण्डकी नदी धार्मिक एवं पर्यटकीय हिसाबले उत्तिकै महत्वपूर्ण रहेकाले यसको उचित संरक्षण र संवर्द्धन गर्न सकेमा सिङ्गो मुलुकको अर्थतन्त्र माथि उकासिने उनको भनाइ छ ।

कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री विकास लम्सालले कालीगण्डकीको सभ्यता संरक्षणका लागि आफू लामो समयदेखि सक्रिय रहँदै आएको जनाउँदै मुक्तिनाथबाट देवघाटसम्मको नदीको अस्तित्व जोगाउनका राज्यले नै ध्यान दिनुपर्ने बताए ।

गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण पवित्र कालीगण्डकीको संरक्षणका लागि प्रदेश सरकारमार्फत पहल गर्ने प्रतिबद्धता जनाए । अवैधरुपमा नदी दोहन रोक्न, शालिग्राम शिलाको संरक्षणलगायत नदी वरपर पाइने जलचर, थलचर समेतको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउने बताए । मुक्तिनाथबाट देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन् । कालीगण्डकी नदीलाई संरक्षण र संवर्द्धन गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताए ।

उनले राज्य र प्रशासन मात्र नभई आम नागरिक समेत कालीगण्डकीको संरक्षणमा जुट्नुपर्ने बताए । कालीगण्डकी नदीको पर्वत र म्याग्दी खण्डमा भइरहेको अवैध दोहनले पर्यावरणमा समेत असर गर्दै गएको छ । यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर संरक्षणमा लाग्नुपर्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७