मेलम्ची खानेपानी आयोजनाको मुहान जाने सडक बाढीले अवरुद्ध

संघ र प्रदेशले वेवास्ता गरेको स्थानीय जनप्रतिनिधिको गुनासो


३० श्रावण २०८०, मंगलवार
Melamchi badhi

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिन समेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनले गुनासो गरे । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनले बताए ।

‘हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्‍याइरहेको अवस्थामा आएको बजेट विकासमा खर्च गरौं कि खोलामा लगेर हालौँ ?’, उनले प्रश्न गरे । अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने जनाउँदै उनले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजनास्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताए ।

अध्यक्ष शेर्पाका अनुसार अहिले पाटीभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ । बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए । अध्यक्ष शेर्पाले काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागि काम भइरहेको बताए ।

गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको उनले बताए । ‘खोलालाई पुरानै धारमा फर्काउनका लागि करोडौँ बजेट खर्च भयो तर अहिले उपलब्धि केही छैन’, आगामी दिनमा हेलम्बुमा दीर्घकालीन योजना बिना जथाभावी खोलामा मेसिन हाल्न रोक लगाउँछु’, अध्यक्ष शेर्पाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७