दोलखाका तत्कालीन प्रजिअ रिजाल पाँच वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर


३० श्रावण २०८०, मंगलवार
Khagendra Prashad rijal 01

काठमाडौं : दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खगेन्द्र रिजाल विभिन्न पाँच वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव रिजाललाई विशेष अदालतले पाँच वटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् ।

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरुसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ विगो र त्यति नै जरिवाना हुने आदेश गरेको छ ।

अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चार वटा मुद्दा लगाएको थियो । यस्तै नक्कली बील बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौं मुद्दा दायर भएको थियो । यी सबै मुद्दा एकै दिन दायर भएका थिए ।

महिलासम्बन्धी मुद्दा लगाइदिन्छु भनी धम्क्याएर प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीबाट घुस लिएको अख्तियारको आरोप थियो । चारमध्ये पहिलोमा ३५ हजार, दोस्रोमा ९० हजार विगो माग दाबी थियो । डेढ लाख मागेर ५० हजार रुपैयाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको थियो ।

चौथो मुद्दामा चार लाख विगो माग दाबी छ । चार लाखमध्ये माछापुछ्रे बैंकमा नै राखेको २ लाख जफत गर्न र बाँकी २ लाख असुल्न पनि अख्तियारले माग गरेको थियो ।

दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर फिल्डमा खटिएको भनी भत्ता लिएका थिए । उनले लिएको ७७ हजार ६०० रुपैयाँ भत्ता पनि भ्रष्टाचारमार्फत आर्जन भएको अख्तियारको दाबी थियो । कार्यालयमा बसेर विभिन्न निर्णय गरेकै दिन उनले अनुगमन खटिएको भनी भ्रमणभत्ता बुझेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७