राम्रो काम गर्दा पनि सरकारमाथि घेराबन्दी भयो : उपमहासचिव पुन


४ भाद्र २०८०, सोमबार
barshaman pun
फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि बिना कारण हमला भइरहेको बताए ।

‘राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौ’, उनले भने । उनले वर्तमान सरकार गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उपमहासचिव पुनको जिकिर छ ।

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको उल्लेख गर्दै उनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको बताए ।

आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य सामाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट बिमुख नहुने उल्लेख गरे । उपमहासचिव पुनले केन्द्रीय समितिको निर्णयानुसार सुरु ‘घरघरमा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाडौँ उपत्यकामा रक्तदान, वृक्षरोपण तथा सफाइ अभियान सञ्चालन गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७