गौराले सामाजिक सम्बन्ध जीवन्त बनाउन भूमिका खेलेको छ : प्रधानमन्त्री


७ भाद्र २०८०, बिहीबार
prachanda 3

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यस अवसरमा खेलिने डेउडा र अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताए ।

‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ’, शुभकामना सन्देशमा उल्लेख छ । प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सहरीकरणको विकास र बसाइँसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भूभागमा उत्तिकै महत्वका साथ मनाउन थालिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको गौरा मनाउने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७