मीनबहादुरको बयान : व्यक्तिको जग्गा किनेको हुँ, सरकारी भन्ने थाहा थिएन


७ भाद्र २०८०, बिहीबार
Min bahadur

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सीआईबीले बुझाएको प्रतिवेदेन हेरेर अभियोगबारे निर्णय लिनेछ । उक्त प्रतिवदेनमा उपलब्ध प्रतिवादीहरुको बयान समावेश छन् । भाटभटेनी प्रालिका सञ्चालक मीनबहादुर गुरुङले ललिता निवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिको नाममा खरिद गरेको बयान दिएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई जानकारी नभएको बताएका छन् ।

आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय विभिन्न व्यक्तिलिाई बिक्री गरिसकिएको उनले बताएका छन् । गुरुङले भनेका छन्, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’ उनले कम्पनी सञ्चालकहरुमा आफू, श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेको बयान दिएका छन् ।
यस्तो छ मीनबहादुर गुरुङको बयान
मेरो राम कुमार सुवेदी र शोभाकान्त ढकालसँग २०६०÷६१ सालतिर ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गर्ने समयमा भेटघाट भएर चिनजान भएको हो । त्यसपश्चात ललिता निवास क्याम्पभित्रको जग्गा हामी तीनजनाको संयुक्त नाममा खरिद गरेका हौँ । त्यसपश्चात हामी तीन जना मिलेर भाटभटेनी डेभलपर्स प्रा.लि. खोली जग्गा विकासको काम गरेका हौँ । भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही सञ्चालनमा छ। उक्त कम्पनीको सञ्चालकमा म, मेरी श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल छौँ। म र मेरी श्रीमती सावित्रीको नाममा ५१५ सेयर रहेको छ । रामकुमार सुवेदी र शोभाकान्त ढकालको ४९५ सेयर लगानी छ ।

हामीले ललिता निवास क्याम्पभित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ती आदिको ब्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरेका हौँ। ललिता निवास क्याम्पभित्रको अन्दाजी ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिको नाममा खरिद गरेका हौँ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्ष भनेर कसैलाई तोकिएको छैन । ललिता निवास क्याम्पभित्रको जग्गा हालसाबिक भएपश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा खरिद गरेका हौँ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा मोही लाग्छ, लाग्दैन मलाई थाहा छैन, म अनभिज्ञ छु । कम्पनीको बहुमत सेयर मेरो नाममा रहे पनि म अन्य व्यवसायको सिलसिलामा ब्यस्त हुने भएकाले उक्त कम्पनीको काम कारबाही रामकुमार सुवेदीले गर्ने गरेका छन् ।

बहुमत सेयर मेरो नाममा भए पनि मलाई जानकारी नभएको हो । २०६७ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूको निवास विस्तारका क्रममा काठमाडौं महानगरपालिका–४ को सिट नम्बर १०२५-१५ को साविक कि.नं.७५ को ५९५.८० वर्ग मिटर जग्गामध्ये हालको कि.नं. २११ को ९९ दशमलव ३५ बर्गमिटर र ५९१ को ३३ दशमलव ७९ बर्गमिटर जग्गा जग्गाधनी पुर्जाको आधारमा खरिद गरेको हो ।

ती जग्गाहरु ब्यक्तिको नाममा कायम भएपश्चात खरिद गरिएको हो । जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो, हाल मैले बिर्सिएँ । मैले ब्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन। ललिता निवास क्याम्पभित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गा खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याइएको थियो ।
उक्त जग्गाको साँध सिमाना हाल एकिन गर्न सक्दिनँ । मोहीबारेमा मलाई कुनै जानकारी छैन । त्यस सम्बन्धमा निज रामकुमार सुवेदीलाई थाहा होला । ती जग्गाहरु मेरो परिवार तथा आफन्तहरुको लागि आवास बनाउन साथै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको गोदाम घर बनाउन खरिद गरिएको हो। उक्त समयमा जग्गाहरुमा जाने बाटो थिएन ।

जग्गासँग जोडिएको अरु जग्गा खरिद गरी बाटो जोड्ने योजनाका कारण पहिले बाटो नभएका जग्गा खरिद गरिएको हो । जग्गा पास गर्न घरबाटो सिफारिस लिएका थियौँ । ललिता निवासको जग्गा म र मेरो परिवारले २०६१को सेरोफेरोमा तत्कालीन जग्गाधनीसँग रहेको जग्गाधनी पुर्जाको आधारमा खरिद गरेका हौँ ।

उक्त सरकारी जग्गा हिनामिना सम्बन्धमा मेरो तथा मेरो परिवारका सदस्यहरुको कुनै संलग्नता छैन । ललिता निवास क्याम्पभित्रको मेरो तथा मेरो परिवारको नाममा खरिद गरेका जग्गामा मात्र मैले लगानी गरेको हो । निजले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए, मलाई थाहा भएन । २०६७ सालमा विशिष्ट व्यक्तिहरुको निवास परिसर बिस्तार गुरुयोजना बमोजिम विस्तारित क्षेत्रमा मसमेतको नाममा रहेको भाटभटेनी डेभलपर्सको नाममा रहेको १० आना २ पैसा जग्गा परेको थियो । त्यसबापत सट्टापट्टा भनी के कुन कित्ताको के कति क्षेत्रफल सट्टापट्टा आएको थियो मलाई थाहा छैन ।

म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौँ। मैले तथा मेरो परिबारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्बन्धित जग्गा धनीहरुलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौँ । हाल अन्दाजी २९ रोपनी जति जग्गा म, मेरो परिवार तथा नातेदारहरुको नाममा दर्ता कायम छ ।

म, मेरो परिवार तथा मेरो आफन्तको नाममा खरिद गरेको जग्गामा अन्दाजी २-३ करोड लगानी भएको छ । त्यस सम्बन्धमा मलाई थाहा छैन । नेपाल सरकारको नामबाट विभिन्न व्यक्तिहरुको नाममा जग्गा नामसारी, दाखिल खारेज भइसकेपश्चात म समेतले साविक जग्गाधनीसँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको हो । मैले भाटभटेनी सुपर मार्केट परिसरबाहिर पारिवारिक आवास बनाउने सोच राखिरहेको थिएँ। एकिन मिति याद भएन, २०६० माघको दिन बिहानपख श्रीमती सावित्री गुरुङसमेतलाई साथमा लिई मर्निङवाकका क्रममा बालुवाटार पुग्दा चौरमा केही बालबालिका भलिबल खेल्दै गरेको देखेको थिएँ।

उक्त जग्गामा घाँस, घारी र ढल बगिरहेको अवस्था थियो, उक्त जग्गा देख्दा यहाँ पनि खाली जग्गा रहेछ भन्ने थाहा पाएको हुँ। त्यसको करिब १०÷१५ दिनपछि मेरो दाइ नाताका रामकाजी कोने, विश्वप्रकाश पण्डित र दीपक भन्ने व्यक्तिसमेतले भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको प्राङ्गणमा मलाई भेटी बालुवाटारको जग्गा विक्रीमा आएको छ, तपाईं पनि खरिद गर्ने भए कुरा गरौँभन्दा मैले मेरो लागि २÷३ रोपनी जग्गा राखिदिनु भनेको थिएँ।

त्यसको करिब २-३ दिनपछि शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित, रामकाजी कोनेसमेत अन्य ३÷४ जना मानिसहरु भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केटको कार्यालयमा आई मलाई भेटी बालुवाटारस्थित शैलजा राणा, सुनीति राणा, रुक्मशमशेर जबरा, हेमाद्री शमसेर जबरा, हाटक शमशेर जबरा र हेमन शमशेर जबरासमेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु प¥यो भनी मलाई प्रस्ताव गरी जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा, नक्सासमेतका आवश्यक कागजात देखाएकोमा मैले कागज हेर्दा जग्गामा मोहीसमेत देखिएको, एकजनाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा रहेको जग्गाले छेकेको, जग्गामा जाने बाटोसमेत नभएकोले यस्तो झमेला भएको जग्गा खरिद गर्न सक्दिँन भने।

तर, शोभाकान्त ढकाल र रामकुमार सुवेदीले १५ दिनभित्र मोही मिलाउँछौं, राणा परिवारको जग्गासमेत खरिद गर्ने व्यवस्था मिलाउँछौं, तपाईंले किन्दा फरक पर्दैन भनी विश्वाश दिलाए। त्यसभन्दा अघि नै उक्त क्याम्पभित्रको केही जग्गा निज शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित समेतले खरिद गरिसकेको जानकारी गराएकोले निजहरुले भनेको कुरामा विश्वासमा परी ललिता निवास क्याम्पभित्रको जग्गाहरु नियमानुसार राजस्व तिरी सम्बन्धित जग्गा धनीलाई नगदै दिई खरिद गरेको हुँ।

उक्त जग्गामा जान आवश्यक पहुँच मार्गका लागि समेत शोभाकान्त ढकाल र रामकुमार सुवेदीको पहलमा हेमाद्री शमसेर जबरासँग ०.१२.०.० रोपनी जग्गा रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मसमेतको संयुक्त नाममा खरिद गरेका हौं। हाल उक्त ०.१२.०.० रोपनी जग्गा ललिता निवास क्याम्पभित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र त्यसभित्रका अन्य कित्ता जग्गामा जाने बाटोका रुपमा प्रयोग भइरहेको छ । तत्कालीन समयमा निज कुमार रेग्मी मसमेतको स्वामित्वमा रहेको व्यवसायको कानुनी सल्लाहकार रहेको र निजले मसँग घर बनाउने प्रयोजनका लागि बालुवाटारमा जग्गा खरिद गर्ने इच्छा व्यक्त गरेकाले मैले आफ्नो नाममा रहेको उल्लेखित कित्ता र क्षेत्रफलको जग्गा तत्काल चलनचल्तीको मूल्य लिई निजलाई बिक्री गरेको हुँ।

के कति रकममा बिक्री गरेँ, लिखत हेर्दा थाहा हुन्छ । म तथा मेरो परिवारका सदस्यहरु र मेरो स्वामित्वको कम्पनीसमेतको नाममा खरिद गरेको ललिता निवास क्याम्पको जग्गामध्ये कित्ता नम्ब ७९ को २१७ वर्गमिटर जग्गा वैशाली ट्रेड लिंकलाई, कित्ता नम्बर ८० को ५.९४ बर्गमिटर जग्गा माया गौचनलाई, कित्ता नम्बर ४६६ को २५.८ र कित्ता नम्बर ९४ को ४२.७ वर्गमिटर जग्गा नुतन श्रेष्ठलाई, कित्ता नम्बर ६३ को ४७.७ वर्गमिटर जग्गा विजेन्द्र जोशीलाई, कित्ता नम्बर १२८ को २७४ वर्गमिटर कि.नं. ७० को ९५.४ वर्गमिटर जग्गा संगीता राखेचालाई विक्री गरेको छु, त्यसबाहेक अन्य को–कसलाई के कति जग्गा बिक्री गरियो, एकिन भन्न सक्दिनँ।

मैले ललिता निवास क्याम्पभित्रको जग्गा खरिद गर्ने क्रममा २०६० सालको फागुन, चैत महिनातिर मात्रै रामकुमार सुवेदी र शोभाकान्त ढकालसमेतलाई चिनेको हुँ, तत्कालीन अवस्थामा मसमेतले खरिद गरेको ललिता निवास क्याम्पभित्रको जग्गामा पहुँच मार्गका लागि समेत २०६०÷६१ सालतिरै शोभाकान्त ढकाल र रामकुमार सुवेदीको पहलमा हेमाद्री शमशेर जबरासँग ०–१२–०–० रोपनी जग्गा रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मसमेतको संयुक्त नाममा खरिद गरेका थियौँ। प्रधानमन्त्री निवास परिसर विस्तारको क्रममा निवास परिसरबाहिरको बाटो २०६७ सालमा मात्रै बनेको हो, उक्त बाटो तयार हुँदा तत्काल हामी समेतको स्वामित्वमा रहेको ललिता निवास क्याम्पभित्रको जग्गा हुँदै निर्माण भएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७