दुई लाख डलर धरौटीमा छुटे ट्रम्प


८ भाद्र २०८०, शुक्रबार
trump 2YoRPdqcYf

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दुई लाख डलर बुझाएर धरौटीमा छुटेका छन् । बिहीवार जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी त्यहाँ पुगेको २० मिनेटमै २ लाख डलरको धरौटीमा रिहा भएका बीबीसीले जनाएको छ ।

ट्रम्प न्यूजर्सीबाट आफ्नो निजी विमानमार्फत जर्जिया गएका थिए । उच्च सुरक्षाकासाथ त्यहाँको फुल्टोन काउन्टी जेल पुगे । जेल वरपर कडा सुरक्षाको व्यवस्था गरिएको थियो । त्यहाँ उनको प्रहरी मगशट भनिने फाइलको लागि औँठाछाप र फोटो लिइएको थियो । उनले जेलभित्र २० मिनेट जति समय बिताए । जेलको वेबसाइटमा राखिएको ट्रम्पको रेकर्डमा गोरो वर्णको, ६ फीट ३ इन्च अग्लो, ९७ किलो, स्ट्रबेरी रंगको कपाल र नीलो आँखा भएको भनी उनको हुलिया उल्लेख गरिएको छ । वेबसाइटमा उल्लेख भएअनुसार उनको कैदी नम्बर पी ०११३५८०९ रहेको छ ।

ट्रम्पलाई जर्जियाको एक अदालतद्वारा गएको हप्ता सन् २०२० मा जर्जिया राज्यमा चुनावी हार उल्टाउने प्रयास गरेको अभियोग लगाइएको थियो । फुल्टन काउन्टी ग्रान्ड जुरीका तर्फबाट जारी गरिएका ४१ कागजातमा उनीलगायत अन्य १८ व्यक्तिमाथि उक्त आरोप छ । यो वर्ष मात्रै ट्रम्पमाथि आपराधिक आरोप लागेको यो चौथो पटक हो । तर, ट्रम्पले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीति प्रेरित बताउने गरेका छन् ।

उनले जेलबाट फर्केर घर जाने क्रममा विमानस्थलमा पत्रकारहरुसँग आफूले कुनै गल्ती नगरेको दाबी गर्दै भनेका छन्, ‘चुनावमा चुनौती दिन पाइन्छ, मलाई थाहा छ त्यो चुनाव धाँदलीपूर्ण भएको थियो। मलाई पनि त्यही लागेर गरेको हुँ । तपाईंहरुलाई थाहै होला हिलारी क्लिन्टन हुन् या स्टसी अब्राहम या अरु सबैले यस्तै त गरेका थिएँ ।’

यस्तै उनले एक्स (पुरानो ट्विटर) मा एक फोटो राख्दै चुनावमा हस्तक्षेप÷धाँदली गर्दैमा आत्मसमर्पण गर्न नपर्ने आशयसहितको ट्वीट पनि गरेका छन् । योसँगै उनी तीन वर्षपछि सामाजिक सञ्जाल एक्समा फर्केका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७