सर्वोच्च अदालतमा सुशासन कायम गर्छौ : प्रधानन्यायाधीश


११ भाद्र २०८०, सोमबार
sarbochha
फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । आज (सोमबार) सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने जानकारी दिए । उनले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नसक्ने बताए । स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि उनले बताए । उनले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने धारणा औंल्याए ।

‘यसले कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरूलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्‍यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘‘अदालतका हरेक काम, कारबाहीहरू विशेषगरेर मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ । त्यो सबै कुराहरू प्रविधिमा आबद्ध छन् । प्रविधिमा आबद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’

प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रको जनशक्ति प्रयोग गरिएको बताए । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको उनले जानकारी दिए । यो प्रणालीलाई आगामी दिनमा काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७