एमालेमा कुनै नेताको गुट छैन : पद्मा अर्याल


११ भाद्र २०८०, सोमबार
padma aryal
फाइल फोटो

लुम्बिनी । नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले संघीयताले नै जनताका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन् ।

नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताइन् । पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताइन् ।

उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राखिन् । ‘सर्वसम्मत भनेको सहमति र समझदारी हो’, उनले भनिन्, ‘सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।’ एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ । अधिवेशनमा महिला ३३ प्रतिशत पुर्‍याउने प्रयासमा रहेको बताउँदै उनले उत्पीडित, महिला, युवाको फरक–फरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७