७७ अर्बको परियोजना भोलिबाट कार्यान्वयन हुँदै, एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै

अमेरिकी सिनेटर क्रिस भान होलेन पनि लगतै नेपाल आउँदै


१२ भाद्र २०८०, मंगलवार
mcc

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) भोलि (बुधबार) बाट औपचारिक रुपमा कार्यान्वयनमा जाने भएको छ ।

एमसीसी परियोजना औपचारिक कार्यान्वयनको घोषणा गर्न उपाध्यक्ष क्यामरुन एस अलफोर्ड आज (मंगलबार) नेपाल आउँदै छन् । १३ भदौमा अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात हुने कार्यक्रम छ । एमसीसी औपचारिक सुरुवात भएको पाँच वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यतात्मक अवस्था छ । जस अनुसार १२ भदौं ०८५ मा यो परियोजना सम्पन्न भइसक्नु पर्छ ।

एमसीसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत गर्ने तयारी छ । नेपाल सरकारअन्तर्गतको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजनाको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ । परियोजनामा नेपाल र अमेरिकाको संयुक्त लगानी रहेको छ । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड डलर लगानी रहने बताइएको थियो । तर, चालु आर्थिक वर्षमा ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर थपिएको छ । एमसीसी परियोजनाअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत हुनेछ ।

एमसीसी कार्यान्वयनका लागि नेपालले सन् २०१७ मा नै सम्झौता गरेको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा अमेरिका गएको टोलीले परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको थियो । उक्त सम्झौतालाई २७ फेब्रुअरी ०२२ मा संसदबाट अनुमोदन गरिएको थियो । संसदबाट अनुमोदन गर्ने विषयमा राजनीतिक दल र सांसदहरूबीच विवाद भएको थियो । लामो विवाद र रस्साकस्सीका बीचमा एमसीसी संसदबाट अनुमोदन भएको थियो ।

त्यसैले कार्यान्वयनको सन्दर्भमा पनि आंशकाहरू भइरहेका छन । एमसीसी कार्यान्वयनका लागि औपचारिक रुपमा घोषणा गर्ने तयारी भइरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलन सुरु गरेको छ । औपचारिक रुपमा कार्यान्वयन सुरु भएपछि १२ भदौ ०८५ मा परियोजना निर्माण कार्य सम्पन्न नभएमा नेपाल सरकारले आफ्नै लगानी लगाउनुपर्ने बाध्यता हुन्छ । एमसीसीले परियोजनाको भौतिक प्रगतिअनुसार मात्रै भुक्तानी दिने र समयमा परियोजना सम्पन्न नभए रकम नपठाउने शर्त रहेको छ ।

एमसीसी कार्यान्वयनको घोषणका लागि नेपाल आउन लागेका क्यामरुनले उच्चस्तरीय राजनीति भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक नेताहरूलाई भेट गर्ने र १५ भदौमा अमेरिका फर्किने कार्यतालिका रहेको छ । एमसीसी उपाध्यक्ष क्यामरुन काठमाडौंबाट फर्केलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन काठमाडौं आउने कार्यक्रम रहेको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अन्य अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७