मोरङमा १३ वर्षीया बालिकाले जन्माइन् बच्चा


१६ भाद्र २०८०, शनिबार
baby
सांकेतिक तस्विर

मोरङ । मोरङमा एक १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । एक किशोरसँगको शारीरिक सम्पर्कबाट आठ महिनाअघि गर्भवती बनेकी बालिकाले छोरा जन्माएकी हुन् । बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएकी हुन् । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।

विराटनगरकै सुविधा सम्पन्न अस्पतालमा सामान्य प्रसूतिमार्फत बालिकाले शिशु जन्माएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् । बालिकाले पेट दुखेको महसुस गरेपछि अभिभावकले चेकजाँचका लागि भदौ १२ गते मंगलबार अस्पताल भर्ना गरेको पाइएको उनले जानकारी दिए ।

डाक्टरले परीक्षण गर्दा गर्भ रहेको खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय किशोरसँग बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ । बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’ मा राखी घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि बालकविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँअन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले बताए ।

१८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क राखे पनि कानुनले त्यसलाई बलात्कार (जबरजस्ती करणी) मानेको छ । बलात्कारमा बालक नै संलग्न रहेको पाइएपछि प्रहरीले घटनालाई अनौठो एवं संवेदनशील मानेर अनुसन्धान अघि बढाएको हो । पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ । डीएसपी दाहालका अनुसार लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा थाहा नभएको अभिभावकले बताएका छन् ।

कोशी अस्पताल विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अशोक मेहताले अहिलेको खानपान तथा वातावरणको असरका कारण बालिकाहरूमा सानै उमेरबाट महिनावारी सुरु हुने गरेको बताए। ‘खानपान र वातावरणको प्रभावका कारण हर्मोनहरू विकास भएर चाँडै महिनावारी सुरु हुन थालेको छ,’ उनले भने, ‘कतिपयमा ११ वर्षकै उमेरमा महिनावारी हुने गरेको पाइन्छ ।’ महिनावारी सुरु भएपछि शारीरिक सम्पर्क गर्दा गर्भ बस्ने डा. मेहताको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७