संघीय सरकारविरुद्ध सर्वोच्च जाने बागमती प्रदेश सरकारको निर्णय


२७ भाद्र २०८०, बुधबार
Bagmati

मकवानपुर । बागमती प्रदेश सरकार संघीय सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । आफ्नो अधिकारमा हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको हो ।

आज (बुधबार) बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संविधानले प्रदान गरेको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेको भन्दै मुद्दा हाल्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गंगानाराण श्रेष्ठ जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका श्रेष्ठले मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको बताए ।

सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ को दफा १२ को (१) विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता श्रेष्ठल बताएका छन् । उनका अनुसार उक्त ऐनले संघीय राजधानी र काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात सेवा संघीय सरकार मातहत रहने गरी संघीय सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्ने भनिएको छ ।

उक्त ऐनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णयमा प्रदेश सरकार पुगेको उनले बताए । प्रदेशको अधिकारमा संकुचन आउने गरी संघीय संसदबाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ पारित गरी २०७९ असोज ९ गते राजपत्रमा समेत प्रकाशित गरिएकोमा बागमतीले आपत्ति जनाएको छ । यसैलाई लिएर प्रदेश सरकारको अधिकार खोज्न सर्वोच्च जाने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७