खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा


३० भाद्र २०८०, शनिबार
health check CK9oofi5aM
सांकेतिक तस्वीर

बझाङ । बझाङको खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो । वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने तीन महिने समयमा उनको बसाई खप्तडमै हुन्छ ।

खप्तडमा रहँदा रावलको उपचारको सहारा भएको छ त्यहाँको आर्मी मेडिकल । त्यो मेडिकलमा रावलले आफू मात्रै नभएर आफन्तको उपचार समेत गराउँदै आएका छन् । गाउँबाट बिरामी भएर आएका आफन्तको सेनाको निःशुल्क मेडिकलमा धेरै पटक उपचार गराएको उनी सम्झिन्छन् । ‘व्यारेकमा ठूलो उपचार त हुँदैन’, उनले भने, ‘सानोतिनो उपचारका लागि भने गाउँले समेत यतै आउनुहुन्छ । अहिले त नजिकैका स्वास्थ्य संस्थाको पनि भर लाग्दैन । खप्तडमा उपचार गराउनु र जिल्ला अस्पतालसम्म पुग्नु एउटै लाग्छ ।’

अझै जिल्ला अस्पतालमा खर्च लाग्ने र सेनाको मेडिकलमा निःशुल्क हुने गरेको उनले बताए । रावलको जस्तै उपचारप्रति प्रेम छ, खप्तडछान्ना गाउँपालिका–६ का जगत थापाको । उनी पनि बिरामी पर्दा खप्तडकै बाटो लाग्छन् । ‘खप्तड हुँदा जुन बेलामा पनि उपचारका लागि ब्यारेकै जान्थे । यसपटक भने घरै भएर पनि औषधिका लागि खप्तड गए ।’ उनका अनुसार खप्तडमा बिरामी चेकजाँच र औषधीको मात्रा मिलाएर दिने हुँदा स्वास्थ्य चौकीभन्दा आर्मी मेडिकल सहज लाग्छ ।

खप्तडमा मेडिकलमा मात्रै नभएर मेला पर्वमा समेत सयौँले उपचार पाउँछन् । खप्तडमा रहेको श्री सिंह शार्दूल गुल्मले मेडिकल क्याम्प सञ्चालन गरेर तीर्थालु भक्तजनको उपचार गर्दै आएको छ । मध्यवर्ती क्षेत्र आसपासका स्थानीय त मेला पर्वको साइत जुराएर उपचारका लागि समेत आउने गरेका छन् । खप्तडछान्ना गाउँपालिका–३ बझाङकी सिद्धा रोकायाले मेला हेर्ने मौका छोपेर उपचारका लागि आएको बताए । उनले भने, ‘ग्याष्ट्रिक पहिलेदेखिकै थियो । यो पटक कम्मर दुख्ने, रिँगाटा लाग्ने, बेला बेलामा ज्वरो आउने समस्या भएको हुँदा उपचार पनि हुन्छ भनेर आए ।’

उनले अघिपछि समय नमिल्ने हुँदा मेलाको समयमा आएर चेकजाँज गराएको बताइन् । ‘गत वर्ष पनि आएकी हुँ, त्यो बेलाको औषधिले धेरै काम गर्‍यो । यसपटक पनि डाक्टरले चेकजाँच गरेर औषधि दिनुभएको छ । समस्या भए फेरि आउनु भन्नु भएको छ’, उनले भनिन् । गङ्गादशहरा मेला, खापरदह मेलाको उकालु र ओरालुमा समेत गुल्मले निःशुल्क उपचार गरिरहेको गुल्मपति पुरुषोत्तम कार्कीले बताए । उनका अनुसार गत साता मात्रै गुल्मबाट खटिएका मेडिकल टोलीले खापरदह मेलामा दुई दिने मेडिकल क्याम्प सञ्चालन गरेर एक सय ४० जनाको उपचार गरे ।

सेनाले तीर्थालुको स्वास्थ्योपचारसँगै खापर दह इलाकामा रहेको मन्दिर, ट्रष्टघर, धार्मिक ईलाकाहरूको सरसफाइसहित मेला नजिक अस्थायी शौचालयसमेत निर्माण गरेको गुल्मपति कार्कीले बताए । खप्तडमा रहेको आर्मी मेडिकल मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि मात्रै नभई खप्तड भ्रमणमा आउने पर्यटक, गोठाला, तीर्थालु भक्तजन सबैका लागि निकै ओखती बनेको खप्तडमा होटल सञ्चालन गर्दै आएका धर्मराज रोकायाले बताए ।

उनले भने, ‘खप्तडमा आर्मीको मेडिकल नहुने हो भने धेरै मान्छे आउने थिएनन् ।’ मेडिकल भएकै कारण अहिलेसम्म हजारौँ मान्छेलाई राहत पुगेको उनले बताए । मेला पर्वमा मात्रै नभएर अघिपछि पनि दैनिकजसो २०-२२ जनाले सेवा लिइरहेको गुल्मपति कार्कीले बताए । उनले भने, ‘खप्तड अग्लो ठाउँमा र धेरै हिँड्नुपर्ने भएको हुँदा यहाँ लेक लाग्ने समस्याले आउने बिरामी धेरै छन् ।’ अन्य स्वास्थ्य समस्या भएका बिरामी पनि दैनिकजसो आउने गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७