तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा


७ आश्विन २०८०, आईतवार
Akhtiyar

बारा । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मावि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । विश्वराज यसअघि बुढानिलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिकालगायत स्थानीय तहको प्रशासकीय अधिकृत थिए ।

उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका–८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका अख्तियारको आरोप छ । उनीहरुले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भए भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७