एशियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित


१७ आश्विन २०८०, बुधबार
kabadi

काठमाडौँ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औं एशियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेर अघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एशियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एशियाली खेलकुदमा भाग लिएको हो । ‘पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ’, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट कुरा गर्दै भने, ‘महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एशियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ ।’ सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको भनाइ थियो ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’ को विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो । यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’ मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७