सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न सांसदहरुको आग्रह


१८ आश्विन २०८०, बिहीबार
Samsad ashoj 18 scaled

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले धार्मिक र सामाजिक सदभावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरुले समाजमा आशान्ति चाहने केही तत्वले सामाजिक सद्भाव भड्काउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सरकार र सबै सचेत हुनुपर्ने बताए । सांसद मनिष झाले कसैले पनि राजनीतिक लाभका लागि त्यस्तो गर्न नहुनेमा जोड दिँदै सबै जिम्मेवार बनेर आपसी भाइचारा र मेलमिलाप कायम राख्नुुपर्ने उल्लेख गरे । साथै उनले दैनिक सयौँको संख्यामा नेपाली युवा कामको खोजीमा विदेशिन बाध्य भएको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

सांसद ज्ञानबहादुर शाहीले सामाजिक सद्भाव कायम राख्नका लागि सरकारसँगै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले बजारमा उपभोग्य वस्तुमा महङ्गी भएको उल्लेख गर्दै मूल्यवृद्धि रोक्नका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद प्रदीप यादवले समाजमा अनेक थरी अफवाह फैलाउने काम भएको सन्दर्भमा धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल एकतावद्ध हुुनुपर्नेमा जोड दिए । सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार र प्रभावितको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अब्दुल खांनले कमैया मुक्ता घोषणा भएको १४ वर्ष भइसक्दा पनि अहिलेसम्म पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद रामप्रकाश चौधरीले देशभरका सडकको अवस्था दयनीय भएकाले त्यसको मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेम सुवालले भ्रष्टाचार, सुन तस्करीलगायत अन्य आपराधिक क्रियाकलाप बढदै गएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम गर्न सबैले उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सांसद चित्रबहादुर केसीले भूकम्पपीडित बझाङका जनताको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गर्दै मुलुकमा युवा पिँढीले दैनिक रुपमा देश छोड्ने कुरालाई संसदमा विशेष छलफल गर्न जरुरी भएको प्रति ध्यानाकर्षण गराए । सांसद प्रभु साहले निर्धारित राजस्व राज्य कोषमा आउन नसक्दा विकास निर्माणमा असर परेको उल्लेख गर्दै भन्सार ऐन संशोधन गर्नुपर्ने आवश्यकता औल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७