वैदेशिक रोजगारीमा नकमाएको पैसा गाउँमै पशु पालेर कमाउँदै नोमबहादुर


२९ आश्विन २०८०, सोमबार
Milk
फाइल फोटो

दाङ । दाङको घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ ।

रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षे केसीले विसं २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका हुन् । ‘मलेसियामा तीन वर्ष काम गरे, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिन, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ’, उनले भने । उनका अनुसार पशुपालनबाट हाल मासिक रु दुई लाख आम्दानी भइरहेको छ ।

उनी आफ्नो फार्ममा उत्पादित ३० लिटर र बाँकी गाउँमा उत्पादन भएको दूध सङ्कलन गरी बिक्री गर्छन् । विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ । ‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ’, केसीले भने । उनले हाल चार जना स्थानीयलाई रोजगारी पनि दिएका छन् ।

उनी मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म स्थापना गरी पशुपालन गरिरहेका छन् । उनको फार्ममा १८ वटा भैँसी र तिनका पाडापाडी छन् । केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन् । ‘हरेक दिन बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु’, उनले भने, ‘घरबाट निस्कनु अघि भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु ।’ केसीले पशुका लागि घाँस पनि आफै लगाएका छन् भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७