विश्वको जुनसुकै कुनामा पुगे पनि एक पटककाे नेपाली सँधैंकाे नेपाली : राष्ट्रपति पौडेल


३० आश्विन २०८०, मंगलवार
RSS IMG 20231017 scaled

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उनीहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए ।

nrn 1

राष्ट्रपति पौडेलले भने, ‘नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाको तर्जुमा गरेको छ । संविधान बमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले तपाईंहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।’
उनले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस् योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएले विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्ने बताए ।

‘विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो’, राष्ट्रपति पौडेलले भने, ‘शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनु हुन्छ भन्ने तपाईंहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ । यही आत्मियताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ । यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईंहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु ।’

उनले राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको तर, संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको उल्लेख गरे । उनले भने, ‘हामीले राज्यको प्रशासनिक पुनःसंरचना त गर्‍यौँ, तर, राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन् । जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात गर्न सक्दैनौँ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौ ।’ण्

राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक भएको र यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् भन्दै प्रकृति र संस्कृतिको यो अनुपम सगमलाई जोगाउँदै देश र जनताको हित प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य भएको बताए । उनले नेपाल बाहिर रहेर जीवनयापन गर्दैगर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भूल्ने सम्भावना रहने हुँदा त्यसप्रति सचेत हुन एनआरएनलाई आग्रह गरे ।

नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उहाँले एनआरएनएलाई अनुरोध गरे । ‘नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाड मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाड खानेपानीको मुहानको रुपमा परिचित छन् । तर, दुर्भाग्यवस विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा मूल्यवान् प्राकृतिक स्रोतहरु सङ्कटमा पर्न थालेको छन्’ उनले भनेज्ञ ।

 राष्ट्रपति पौडेलले आजको चुनौती कसरी जैविक विविधतालाई सुरक्षित राख्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै यी क्षेत्रमा पनि गैर आवासीय नेपालीले आफ्नो योगदान कसरी पु¥याउन सक्छ त्यो आफनो पनि चासोको विषय भएका बताए । उनले नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि एनआरएनएको ध्यान आकर्षित गराए ।

डराष्ट्रपति पौडेलले गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले एनआरएनएको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनुको साथै नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेमा उनको विश्वास छ । उनले नेपालको विकास र समृद्धिको बाटोमा एनआरएनएको रणनीतिक साझेदारीलाई थप स्पष्ट र विस्तारित गराउन सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७