फुटतर्फ एनआरएनए : आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणाको तयारी


४ कार्तिक २०८०, शनिबार
nrn conference 14 dlJNXmOb8t

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ । नयाँ नेतृत्वका लागि भएको चुनावपछि उत्पन्न चर्काे विवादका कारण एनआरएन दुई फ्याक हुने अवस्थामा पुगेको हो । निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणाको तयारी गरेको छ ।

राजधानीको होटल हिमालयमा अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठसहितको एनआरएनएहरुको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको हो । एनआरएनएका उपाध्यक्ष डीबी क्षेत्रीले महेश श्रेष्ठ समेतको समर्थनमा आरके शर्मालाई नयाँ अध्यक्ष चयन गर्न लागिएको जानकारी दिएका छन् ।

निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ । शुक्रबार मात्रै तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए । जसअनुसार निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने आन्तरिक सहमति भएको थियो । तर, सो सहमति विपरीत बद्री केसीलाई निर्वाचन कमिटीले शनिवार नै शपथ गराइएसँगै एनआरएनएमा फुटको अवस्था आएको हो ।

शनिबार केसी पक्षधरहरूबाहेकको बैठकले ११ औँ विश्व सम्मेलन सकेर नयाँ कमिटी घोषणा गर्ने तय भएको हो । जसअनुसार आर्थिकसहित पारित गर्नुपर्ने प्रतिवेदनहरु पारित गरेर नयाँ कमिटी घोषणा हुनेछ । नयाँ कमिटीलाई १० औँ महाधिवेशनबाट चयन भएका कुल आचार्य र रबिना थापाको पनि समर्थन रहेको दाबी गरिएको छ । यता आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनको अवस्थामा पुर्‍याएको टिप्पणी गरेका छन् । शनिबार विवादका बीच नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण गरिएसँगै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

‘एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी गरिएको कथित शपथको कुनै औचित्य नहुने र यो एनआरएनए अभियानको मर्म विपरित हुनेछ । यसरी शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजनतर्फ लगेको छ’, शर्माले भने ।

शर्माले निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको पनि बताए । ‘यस्तो अवस्थामा एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु’, उनले भने ।

शनिबार शपथपछि केसीले भने निर्वाचन पारदर्शी भएको दाबी गरेका छन् । केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भए पनि त्यसलाई सच्याइसकेको उनले जानकारी दिए । उनले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने पनि बताए । यससँगै एनआरएनए तीन वटा हुने भएको छ । १० औं महाधिवेशनबाटै विनोद कुँवरको नेतृत्वमा अर्को एनआरएनए अस्तित्वमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७