लेबनानसँगको सीमा क्षेत्रबाट पनि आक्रमण शुरु, नेपालीलाई सचेत रहन दूतावासको आग्रह


५ कार्तिक २०८०, आईतवार
rocket

काठमाडौँ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्ध थप चर्किन थालेपछि इजरायलस्थित नेपाली राजदूतावासले यहाँका नेपालीहरुलाई थप सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण शुरु हुन थालेपछि दूतावासले नेपालीहरुलाई सम्भावित खतराप्रति सचेत रहन आग्रह गरेको हो ।

इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै उत्तरी क्षेत्र लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार बढिरहेको दूतावासले जनाएको छ । इजरायलले किर्यात सोमनासहितका बस्तीबाट मानिसहरूलाई अन्यत्र सार्न थालेको छ । उक्त क्षेत्र आसपास बस्ने नेपालीहरूलाई सुरक्षा प्रोटोकलहरूको पालना गर्न अनुरोध गरेको छ । त्यस्तै आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाबारे तथा आफ्नो सुरक्षातर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ ।

सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेको खण्डमा दूतावासमा जानकारी गराउन अनुरोध गरेको हो । इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको जनाएको छ । परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण सङ्कलन गर्न लागेको छ ।

त्यसका लागि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न समेत अनुरोध गरेको छ । यसअघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैलाई अनिवार्य गरिएको दूतावासले जनाएको छ । त्यसैले इजरायलमा सम्पूर्ण नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्न, फर्म भर्न मेसो नपाउनेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७