मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजया दशमीले प्रेरित गर्न सकोस् : उपराष्ट्रपति यादव


७ कार्तिक २०८०, मंगलवार
Ram sahaya 1
फाइल फोटो

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले विजया दशमी अभिप्रेरित रहेको बताए । थवलठविजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरे ।

नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशीता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गणतन्त्रले गरेको बताए । भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार बडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्री आदि नामले मनाइने विजयादशमी पर्व अधर्ममाथि धर्म, खराबमाथि असल एवम् असत्यमाथि सत्यको जीतका रुपमा परापूर्वकालदेखि हिन्दूले बनाउँदै आएको उनले उल्लेख गरेका छन् ।

‘आ–आफ्नो मौलिक चलन, परम्परा, रीतिरिवाज, विधि–विधान, अनुष्ठान र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा यो चाड बनाउनुले विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पुगेको छ’, उनले सन्देशमा भनेका छन् ।

विजया दशमीले सामाजिक विविधतालाई सुदृढ र प्रगाढ बनाउँदै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन उत्प्रेरित गर्ने उनको भनाइ छ । उपराष्ट्रपति यादवले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको विजया दशमीले अहंकार, लोभ, मोह, क्रोध जस्तो खराब आचरणबाट टाढा रहन पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७