कोशीका मुख्यमन्त्री कार्की ‘बिलखबन्द’ मा : कांग्रेस च्याप्ने कि माओवादीलाई बोक्ने ?


११ कार्तिक २०८०, शनिबार
kedar karki 1

इटहरी । संविधानको धारा १६८ (५) बमोजिम एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई मन्त्रिपरिषद विस्तारको विषयमा ‘बिलखबन्द’ मा परेका छन् ।

सहज रुपमा विश्वासको मत पाएका मुख्यमन्त्री कार्कीलाई अहिले मन्त्रिपरिषद विस्तारमा भने सकस परेको छ । कोशी प्रदेशमा राप्रपाबाहेक सबै दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका छन् । केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोलाई बनाउने निर्णय गरेपछि केदार कार्कीले विद्रोह गरेका थिए । आफूसहित ८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर आएका कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेका थिए ।

असोज २७ मा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनका सबै दलले कात्तिक १ गते विश्वासको मत दिएका थिए । केन्द्रीय गठबन्धनको निर्णय लत्याउँदै एमाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सरकार विस्तार गर्न सकस परेको हो । कार्की नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका हुन् । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसके पनि उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको निरन्तरको दबाबका कारण उनले कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कार्की निकट एक नेताले जानकारी दिए ।

कार्की दसैँ अगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारीमा थिए । तर शीर्ष नेताहरूको दबाबका कारण मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको ती नेता सुनाउँछन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै कार्कीले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन् । उनीहरू अझै बिना विभागीय छन् ।

एमालेले सरकार विस्तारमा विलम्ब नगर्न आग्रह गर्दै आएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सत्ता सहयात्री एमालेसँग मन्त्रिपरिषद् विस्तारका लागि समय मागेका छन् । उनीमाथि एमालेसँगको सहकार्य तोड्न निरन्तर केन्द्रबाट दबाब आइरहेको ती नेताले बताएका छन् । सोही विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न मुख्यमन्त्री कार्की काठमाडौँ गएका छन् ।

कार्कीले एमालेको माग र शर्तभन्दा विपरीत गएर मन्त्रिपरिषद् विस्तार नगर्ने प्रतिबद्धता जनाएका छन् । केही दिनअघि एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीसँगको भेटमा मुख्यमन्त्री कार्कीले एमालेसँगको सहकार्य तोड्न नसक्ने भन्दै नेताहरूसँग छलफलका लागि समय माग गरेका थिए । एमाले भने माओवादीलाई सरकारमा सामेल गराउन नहुने पक्षमा छ । अहिले सोही विषयले मुख्यमन्त्री कार्की कांग्रेसलाई च्याप्ने कि माओवादीलाई बोक्नेको अवस्थामा छन् ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी भन्छन्, ‘मन्त्रिपरिषद् विस्तारमा माओवादीलाई पनि सामेल गराइए हामी सरकारमा बस्दैनौँ ।’ उनले मुख्यमन्त्री कार्की काठमाडौँबाट फर्किएपछि थप छलफल गरेर मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्ने बताए । एमालेले माओवादीलाई सरकारमा सहभागी नगराउन माग राख्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७