अरु दलसँग प्रतिष्पर्धा छैन, आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने मात्र डर छ : रवि लामिछाने


११ कार्तिक २०८०, शनिबार
Rabi lamichhane 1
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले लड्नुप र्ने विषय साझा भएको बताएका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रतिक्रिया दिँदै उनले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको बताए । उनले आफूहरुको प्रतिस्पर्धा कुनै पनि राजनीतिक दलहरुसँग नभएको बताए ।

‘हामीले लड्नुपर्ने विषय भनेको देशको गरिबी हो, भ्रष्टाचार हो’, उनले भने, ‘हाम्रा शत्रु साझा छन् । राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो । अरु बेला भनेको देशका अन्य विषयहरु साझा हुन् ।’ अन्य दलले नयाँ पार्टीहरुलाई चुनौतीका रुपमा हेरिरहेका बेला तपाईंहरुलाई चाहिँ चुनौतीको रुपमा कुन पार्टीहरु रहेको लाग्छ भन्ने जिज्ञासामा सभापति लामिछानेले आफ्नै पार्टी संगठन निर्माण लगायतका कार्य नै चुनौती रहेको बताए ।

‘चुनौती हामी आफैंभित्र नै छ । कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने चुनौती हामीमा छ’, उनले भने, ‘हामी आफैंभित्र पार्टीलाई मजबुद बनाउने पक्षमा लागेका छौं । हामीले दायाँबायाँ नहेरेका होइनौ तर बढी चाहिँ हामी आफैंभित्र केन्द्रित छन् ।’
त्यस्तै, उनले आफूलाई बीपी कोइरालासँग गरेको तुलना गरेका विषयमा भने उनले बीपीसँग आफ्नो तुलना हुन नसक्ने बताए । ‘कहाँ बीपी कहाँ हामी ? उहाँको त्यो बहुआयामिक व्यक्तित्व, त्याग तपस्या, राजनीतिक चेतनालगायत विषयमा म उहाँबाट सिक्दैछु । उहाँको आत्मवृतान्त अध्ययन गर्दैछु । उहाँसँग मेरो तुलना निकै परको कुरा हो । उहाँसँग मेरो तुलनायोग्य सामर्थ्य छैन ।’

रास्वपाको वाद के हो भन्ने प्रश्नमा लामिछानेले भने, ‘हामीले पार्टीको गठन गर्दै गर्दादेखि नै संवैधानिक समाजवाद भनेका छौं । यसको व्याख्या, विश्लेषण, बुझाउने विषयका लागि लामो समय लाग्न सक्छ ।’ मेलमिलाप नीतिलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले हिजो र आजको मेलमिलापको विषयको सान्दर्भिकता फरक पर्ने बताए । ‘नेपाली जनताहरुको सन्दर्भमा भने मेलमिलापको सान्दर्भिकता कहिल्यै पनि हट्दैन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७