नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसंघ गौरव गर्दछ : महासचिव गुटेरेस


१४ कार्तिक २०८०, मंगलवार
guteras in samsad
काठमाडौँ, १४ कात्तिक : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र सङ्घ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु ।’

नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै उनले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह गरे । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए ।

महासचिव गुटेरेसले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन सुरु गर्नुअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिएका थिए । महासचिव गुटेरेस सङ्घीय संसद भवन नयाँ बानेश्वर पुग्दा सुरुमा सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलगायतले स्वागत गरे । महासचिव गुटेरेस भवन प्रवेश गरेपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गरे ।

सो अवसरमा महासचिव गुटेरेसले र सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपभामुख राना मगर, राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँग संक्षिप्त भेटवार्ता गरे । महासचिव गुटरेसको स्वागतका लागि सङ्घीय संसद भवनलाई सिङ्गारिएको थियो । भवनको मुख्यद्वारदखि नै नेपालको झण्डा, तुल ब्यानर राखिएको छ । आजको बैठकमा सङ्घीय संसद सचिवालयले सांसदहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन आग्रह गरेको थियो ।

संसद भवनमा पूर्वसभामुख दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, यहाँस्थित कुटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, प्राध्यापक, पूर्वसांसद तथा सञ्चारकर्मीको उपस्थिति छ ।
यही कात्तिक १२ गते चार दिने नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले यसबीचमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

यस्तै, उनले सोलुखुम्बुको खुम्बु क्षेत्र, अन्नपूर्णको आधार शिविर पुगेर जलवायु परिवर्तनले पारेको असरका बारेमा जानकारी लिएका थिए । त्यसैगरी उनले हिजो पोखरा पुगी पुम्दिकोटस्थित महादेवको विशाल मूर्ति अवलोकन गर्नुभयो भने फेवातालमा नौका बिहार गरे । साथै आजै विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि आह्वान गरे । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणका आएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राखेका छन् । लुम्बिनीमा आजै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७