डिफेण्डिङ च्याम्पियन इङल्याण्ड विश्वकप बाहिर, अष्ट्रेलिया सेमिफाइनल नजिक


१९ कार्तिक २०८०, आईतवार
australia 2023 11 04

काठमाडौं । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ३६ औं खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले चीरपरिचित प्रतिद्वन्द्वी इङल्याण्डलाई ३३ रनले पराजित गरेको हो ।

यो जितसँगै अष्ट्रेलियाको सेमिफाइनल यात्रा पक्का जस्तै भएको छ भने साविक विजेता इङ्गल्याण्डको यो विश्वकप बिर्सनयोग्य भएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २८६ रन बनायो ।

मार्कस लबुस्चांगेले ७१ तथा क्यामरुन ग्रिनले ४७ रन बनाए । इङ्गल्याण्डका क्रिस वोक्सले ४ विकेट लिए । जवाफमा इङ्गल्याण्डले ४८.१ ओभरमा अलआउट हुँदै २५३ रन बनायो । बेन स्टोक्सले ६४, डाविड मलानले ५० तथा मोइन अलीले ४२ रन बनाए । एडम जम्पाले ३ विकेट लिए ।

अंक तालिका
७ खेलबाट १४ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ७ खेलबाट १२ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । ७ खेलबाट १० अंकसहित अष्ट्रेलिया तेस्रोे स्थानमा छ । ७ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ ।

पाकिस्तान ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ । अफगानिस्तान ७ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । श्रीलंका ७ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । नेदरल्याण्ड्स ७ खेलबाट ४ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । बंगलादेश ७ खेलबाट २ अंकसहित नवौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ७ खेलबाट २ अंकसहित पुछारमा रहेको छ ।

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो ।

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो ।

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए ।

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो ।

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो ।

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो ।

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल ग¥यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो ।

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।

–२९ औँ खेलमा भारत विजयी भएको छ । भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । भारतले ९ विकेटको क्षतिमा २२९ रन बनाएकामा इङ्गल्याण्डले ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

–३० औँ खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २४१ रन बनाएकामा अफगानिस्तानले ४५.२ ओभरमै ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

–३१ औँ खेलमा पाकिस्तान विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो ।

–३२ औँ खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित हासिल गरेको छ । ३५८ रनको विशाल चुनौती पछ्याएको न्यूजिल्याण्डले ३५.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो ।

–३३ औँ खेलमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भारतले ३५७ रन बनाएकामा श्रीलंका वानखेडे स्टेडियममा ५५ रनमा समेटियो । भारतको विश्वकपमा यो नै सबैभन्दा फराकिलो रन अन्तरको जित हो । विश्वकपमा यो दोस्रो ठूलो अन्तरको जित हो । यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको अन्तरले हराएको थियो । समग्र एक दिवसीयमा भारतको यो चौथो फराकिलो अन्तरको जित हो । भारतले श्रीलंकामाथि नै सन् २०२३ को जनवरीमा हासिल गरेको ३१७ रनको जित अहिलेसम्मकै विश्वकै सर्वाधिक रनको अन्तरको कीर्तिमानी जित हो ।

–३४ औँ खेलमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हासिल गर्यो । नेदरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । जवाफमा अफगानिस्तानले ३१.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।

–३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई डक वर्थ लेविस नियमअनुसार २१ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा पाकिस्तानले ४०२ रनको फराकिलो चुनौती पछ्याइरहँदा वर्षाले खेल अवरुद्ध भएसँगै २५.३ ओभरमा १ विकेट गुमाएर २०० रन बनाएको पाकिस्तान २१ रनले विजयी भएको हो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७