एनसेलद्वारा भूकम्पपीडितका लागि कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण


२४ कार्तिक २०८०, शुक्रबार
One1 scaled

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कात्तिक १७ गतेको विनाशकारी भूकम्पपश्चात एक जिम्मेवार अत्यावश्यक सेवा प्रदायकका रुपमा ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

एनसेलले बिहीबार आफ्नो प्रतिबद्घताअनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बीसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए ।

‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गर्दै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत तथा पुनः स्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ’, वन तथा पर्यटनमन्त्री कृष्ण बीसीले भने ।

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्ना तर्फबाट एनसेलले कसरी सहगोग पुर्‍याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरुसँग एनसेलले छलफल जारी राखेको छ र भूकम्प प्रभावितहरुलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ । ‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरुलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौँ’, एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले भने ।

एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका कामु मुख्य सचिव चूडामणि पौडेलले भने, ‘कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीका तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।’

यस सहयोगसँगै भूकम्पपीडितको सहयोगमा एनसेलको सहयोग झण्डै एक करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति एनसेलले हार्दिक श्रद्धाञ्जली अर्पण। शोकाकुल परिवारमा हार्दिक समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस दुःखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुका साथ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७