भूकम्पपीडितलाई अस्थायी आवास बनाउन सरकारले दुई किस्तामा ५० हजार दिने


२६ कार्तिक २०८०, आईतवार
HKC Jajarkot IMG 2106 1 scaled

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औं बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५/२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो ।

jajarkot bhukapma

उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने बताए । ‘भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न रकम र प्राविधिक पठाउनु पर्छ’, उनले भने, ‘तत्काल अस्थायी आवास बनाउन सकिएन भने भूकम्पपीडित चिसोले कठ्याङग्रिने डर हुन्छ ।’ विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर जतिसक्दो छिटो अस्थायी आवास निर्माण गर्नुपर्ने उनले बताए ।

Bhukampa 5 1

सहरी विकासमन्त्री सीता गुरुङले अस्थायी आवासका लागि जस्तापाता प्वाल नपारिकन प्रयोग गर्नुपर्ने तथा अस्थायी आवास नबनाउनेलाई थप किस्ता नपाउने गरी मापदण्ड बनाउनुपर्ने बताए । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी प्रभावित हुने भएकाले तत्काल अस्थायी आवास बनाउन जरुरी भएको उनको भनाइ थियो । समितिका विज्ञ सदस्य डा. गंगालाल तुलाधरले अस्थायी अवास निर्माणका लागि तत्काल रकम निकासा गर्नुपर्ने र विपद् व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्ने, प्रदेश सरकारले अनुगम गर्ने र सङ्घीय सरकारले स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताए ।

Bhukama sutkeri jajarkot 1

बैठकमा समितिका सदस्य सचिव अनिल पोखरलले जाजरकोट भूकम्पमा भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७