रेशम चौधरीको कैद माफीविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा


१ मंसिर २०८०, शुक्रबार
Resham chaudhari

काठमाडौं । कैलालीको टीकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका दोषी रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट आज (शुक्रबार) सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा थियो । तिहार बिदापश्चात् अदालत खुलेपछि रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो । रिटमा कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहितलाई विपक्षी बनाइएको छ ।

टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले गएको जेठ १६ गते रिट दायर गरेकी थिइन् । सोही जेठ १५ गते चौधरीलाई कैद माफी दिइएको थियो । उक्त रिटमा न्यायाधीश राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चले उल्ट्याई दिएको छ । त्यसपछि कात्तिक २१ गते पुनः चौधरीको कैद माफीविरुद्ध रिट दायर गरिएको थियो ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट टीकापुर हत्याकाण्डमा चौधरी दोषी ठहर भएका थिए । उनको पुनरवलोकन निवेदनमा सर्वोच्चले जेठ २ गते दोषी नै ठहर गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै सरकारले चौधरीलाई कैद माफी दिएको थियो । उनी जेठ १६ गते जेलमुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७