छठको पूजा गर्न तीन सय घाट निर्माण


३ मंसिर २०८०, आईतवार
YA Damak 4148137452486879984 n scaled

झापा । छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गत वर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए ।

छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट संख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताए । उनले भने, ‘अब यो सबै नेपालीको साझा पर्व हो ।’

दमक–७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ । विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिए । ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ’, उनले भने ।

छठस्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको तैनाथ गरिएको छ । यहाँ ठाउँ ठाउँमा शौचालय निर्माण गरिएका छन् । मैथिली सेवा समितिले संस्थागत रुपमा २०६३ सालदेखि दमकमा छठ पर्वको सामूहिक पूजा सञ्चालन गर्दै आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७