प्रचण्डसँग फेरि सहकार्य गर्न बाबुराम तयार, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत


५ मंसिर २०८०, मंगलवार
prachanda baburam 750

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) माओवादी केन्द्रसँग पार्टी एकता गर्न तयार भएको छ । सोमबार राति टोखामा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी बैठकले माओवादीसँग एकता गर्ने सहमति गरेको हो ।

२०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न सहमत भएका हुन् । बैठकमा सहभागी महासचिव यादवका अनुसार शीर्ष नेताहरुबीच आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्ने निर्णय भएको छ ।
माओवादीसँग एकता गर्न पार्टीका शीर्ष नेताहरुबीच सहमति जुटे पनि थप निर्णय भने भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठक गर्ने उनको भनाई छ ।

वृहत् समाजवादी मोर्चा बनाउने अभियानकै क्रममा नेसपाले माओवादीसँग एकता गर्न लागेको हो ।
एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने लगभग दुवै पार्टीबीच सहमति भइसकेको उनको दाबी छ । माओवादी पार्टीको नाम परिवर्तन गर्न यसअघि नै तयार भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७