नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई


१६ मंसिर २०८०, शनिबार
tara devi ganesh rashik

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।

कोषका अध्यक्ष उषा शेरचनको अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीत सङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीत सङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो ।

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा सङ्गीत पनि दिएकी छन् । उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ ।

बीसका दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन् । यही मंसिर १९ गते स्वर सम्राट्को ३३ औं स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७