भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली


१७ मंसिर २०८०, आईतवार
samsad

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् ।

यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मोहन आचार्य पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिएका छन् । उनको नेतृत्वमा बिहीबारदेखि जाजरकोटको विकट क्षेत्र कुशे गाउँपालिका–७ धनराशिमा आवास निर्माणका काममा कांग्रेसका ३२ जनाको टोली खटिएको हो ।

भूकम्पले क्षतिग्रस्त संरचना हटाउँदै शुक्रबारदेखि अस्थायी आवास निर्माणको कार्य सुरु गरिएको आचार्यले जानकारी दिए । भूकम्पपीडितका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटको विकट गाउँ धनराशिमा खटिएको उनको भनाइ छ । उनको नेतृत्वको सो टोली एक सातासम्म सो क्षेत्रमा भूकम्पपीडितका आवास बनाउने काममा लाग्ने जानकारी पनि उनले दिए ।

इञ्जिनियर आचार्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी अहिले तत्कालका लागि अस्थायी टहरा निर्माण गर्ने र यसका लागि स्थानीयस्तरमा उपलब्ध रहेका तथा आफ्नो समूहमा रहेका दक्ष जनशक्तिको प्रयोग गर्ने जानकारी दिए ।

आवास निर्माणका लागि आवश्यक र उपलब्ध रहेमा स्थानीय सामग्रीको प्रयोग गरिएको र उपलब्ध नरहेका अवस्थामा किलाकाँटी लगायतका सामग्री आफैँले ल्याई प्रयोग गरेको पनि बताए । विकट क्षेत्र र बाटोको सुविधा नभएकाले निर्माण सामग्र लैजानका लागि समस्या भएको उनले बताए । सांसद आचार्यले पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७