सोमालिया बाढी : मृत्यु हुनेको संख्या ११० पुग्यो


१८ मंसिर २०८०, सोमबार
somalia flood

काठमाडौं । सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमालियामा एल निनोका कारण आएको विनाशकारी बाढीका कारण कम्तीमा ३६ जिल्लाका १० लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ । सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो अपडेटमा ओसिएचएले भनेको छ, ‘हिर्शाबेल र जुबाल्याण्ड राज्यका १० स्थानमा बाढीमा फसेका दशौं हजार मानिसलाई उद्धार गर्न कम्तीमा ३७ वटा डुङ्गा परिचालन गरिएको छ ।’

गत अक्टोबरमा आएको बाढीका कारण देशभरका पूर्वाधार, व्यापार, शिक्षा र खाद्य आपूर्ति सेवा समेत प्रभावित भएको छ । चार दशकयताकै सबैभन्दा लामो खडेरीपछि आएको बाढीले पशुधन र बालीनाली नष्ट भएको छ भने खडेरीले देशलाई अनिकालको संघारमा पुर्‍याएको छ । ओसीएचएका अनुसार, हिरशाबेल र गाल्मुडुग राज्यहरूमा हैजाको शंकास्पद घटना रिपोर्ट गरिएका कारण पानीबाट सर्ने रोगको बारेमा चिन्ता बढ्दै गएको छ । ‘यो प्रकोपले सीमित स्वास्थ्य सेवा सुविधा भएका समुदायका लागि ठूलो खतरा निम्त्याउनेछ’,उनले भने।

मानवीय सहायता, अधिकारी र स्थानीय समुदायले कम्तीमा आठ लाख २० हजार मानिसलाई सहयोग गरेको छ, जुन प्रभावितमध्ये करिब ३० प्रतिशत हो । मध्य शाबेल, लोअर जुबा र बानादिरको तटीय क्षेत्रमा डिसेम्बर ५ सम्म हल्का वर्षाको सम्भावना रहेको र बाँकी देश तथा इथियोपियाली उच्च भूभागमा सुख्खा मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि शाबेल नदीबेसिनमा पानीको सतह उच्च रहेको र धेरै क्षेत्रमा बाढी आएको बताइएको छ ।

हिर्शाबेल राज्यको जौहर शहरको पूर्वमा २० वटा गाउँ डुबानमा परेका छन् । एक महिनादेखि जलमग्न भएको महादे शहरमा केही घर भत्किएका ओसीएचएले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७