‘भुटी दिदी’ लाई ७३ वर्षमा नागरिकता


१९ मंसिर २०८०, मंगलवार
nagarikta

बझाङ । स्थानीय काँडा गाउँमा दर्जन बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी । हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते ।

२००८ सालमा जन्मिएकी भुटीदिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने । त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले विहे गर्ने समेत समय पाइनन् ।

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्‍यो । जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्छन् ।
गाउँमा तीन पुस्ताले नै उनलाई भुट दिदी भनेर सम्बोधन गर्छन् । उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन् । धामी, बोहरा,गुरूङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोवास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकी हुन् । भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा÷भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेको गाउँपालिका अध्यक्ष मानविर बोहरा बताउँछन् ।

भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन् । तर, भुटीदिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहेकी छन् । अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ । उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहने भुटीदिदी केही वर्षयता भने घरमै थन्किएकी छन् ।

साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहरा भन्छन्, ‘भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन् । घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनु भएकी दिदीलाई विहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो ।’ बुढेसकालमा भने विहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताए ।

भतिज टेकको संरक्षणमा रहेकी भुटीदिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई विहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए । उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताकोे आवश्यकताबारे पनि कसैलाई थाहा थिएन । विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए । ‘उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन । पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए’, उनी भन्छन् ।

भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो । ‘अहिलेको जस्तो सञ्चार थिएन । त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन । नागरिकता दिने टोली गाउँमा आयो । गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए । टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्नुहुन्छ । त्यसै बेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि ! अहिले त वृद्धभत्ता पनि पाइन्छ । नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो’, उनले भने ।
साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन । पैदल हिँडेर नै चार-पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ । खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेल बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ । त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ । सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो । त्यसैमा गएर नागरिकता प्रदान गर्‍यौँ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७