आर्सनल शीर्ष स्थानमा यथावत


२० मंसिर २०८०, बुधबार
arsenal1701830474

काठमाडौं । इङलिस प्रिमियर लिगमा आर्सनलले लुटन टाउनमाथि ४– ३ को जित निकालेको छ । लुटनको मैदानमा गए राति भएको खेलमा सुरुवातमा हाबी भएको आर्सनलले २० औं मिनेटमा अग्रता लियो । उसका लागि गाब्रिएल मार्टिनेलीले गोल गरेका थिए ।

लुटनले २५ औं मिनेटमा गाब्रिएल ओसोको हेडर गोलमार्फत खेल बराबरी गर्‍यो । ४५ औं मिनेटमा गाब्रिएल जेजुसले गोल गरेपछि आर्सनल पहिलो हाफमा २–१ ले अघि रह्यो । तर दोस्रो हाफमा ८ मिनेटको अन्तरमा २ गोल गरेर लुटनले आर्सनललाई चुनौती दिएको थियो ।

४९ औं मिनेटमा अलाइजाह आडेबायोले खेल २–२ गोलको बराबरीमा पुर्‍याए । ५७ औं मिनेटमा रस ब्राक्लीले गोल गरेपछि आर्सनल पछि परेको थियो । ६० औं मिनेटमा काइ हाभर्टसले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ९० मिनेटमा खेल ३–३ गोलको बराबरी भयो । ७ मिनेट इन्जुरी समय थप गरिएको थियो ।

राइजले गोल गर्दै आर्सनललाई जित दिलाए । आर्सनलले यो सिजन हारको स्थितिबाट पुनरागमन गर्दै ८ अंक जोडेको छ । शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलबाट ३६ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ । १७ औं स्थानमा रहेको लुटनको १५ खेलबाट ९ अंक छ । प्रिमियर लिगको अर्को खेलमा उल्भसले बर्नलीलाई १–० गोलले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७