जाजरकोटबाट फर्कियो एमालेको स्वयंसेवक टोली

२० दिनमा ८१६ अस्थायी आवास र १६ वटा विद्यालय निर्माण, ५०३ भग्नावशेष व्यवस्थापन


२२ मंसिर २०८०, शुक्रबार
Jajarkot 111 rzp5MdjTlE

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ ।

जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णयअनुसार खटिएको दक्ष जनशक्तिसहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ । कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदारसहितको जिफण्टको टोलीले मंसिर १ गतेबाट र अन्य स्वयंसेवकले मङ्सिर ३ गतेबाट काम थालेका थिए । कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमालसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सक सहितको टोली खटाइएको थियो ।

प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणको लागि कात्तिक ३० गते दक्ष जनशक्तिसहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट हिँडेको थियो । त्यसपछि पार्टी केन्द्रीय सदस्य एवम् विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मंसिर ३ गते देशभरबाट एक हजार स्वयंसेवकको टीम प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटेको थियो ।

प्रभावित क्षेत्रमा एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक प्रभावित दुई जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुमपश्चिम काम गरेका थिए ।

सो अवधिमा एमालेका स्वयंसेवकले ५ सय ३ वटा भग्नावशेष व्यवस्थापन गरेका स्वयंसेवक टीमका नेतृत्वकर्ता किरण पौडेलले जानकारी दिए । ‘धराप घरहरूबाट जोखिम मोलेरै भए पनि जनताका सम्पत्ति सुरक्षित बाहिर निकालिदियौँ, पूर्णरूपले क्षति भएका घरभित्र पुरिएका सामान उत्खनन गरेर सम्बन्धित परिवारलाई बुझायौँ’, उनले भने ।

सो क्रममा ८ सय १३ अस्थायी आवास निर्माण गरिएको छ । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, तथा आर्थिक रूपले विपन्न परिवारलाई लक्षित गरेर स्वयंसेवक परिचालित गरिएको उनले बताए । एमालेको स्वयंसेवक टोलीले १६ वटा अस्थायी विद्यालय बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले भवन भत्काएपछि पठनपाठन बन्द भएका ती विद्यालयमा अस्थायी कक्षा कोठा निर्माणपछि पढाइ सुरू भएको छ । स्वयंसेवक टोली फर्किए पनि अस्थायी आवास निर्माणको अभियान नरोकिएको पौडेलले बताएका छन् ।

‘स्थानीय नेताहरूको नेतृत्वमा अभियानलाई निरन्तरता दिने गरी हस्तान्तरण गरिएको छ । हामीले सामाग्रीहरू स्थानीय नेतृत्वलाई नै छाडेका छौं’, बागमतीबाट एउटा टोलीको नेतृत्व गरेका राज मैनालीले जानकारी दिए । एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग नेपाल सरकारलाई सो क्षेत्रमा गर्नुपर्ने कामको बारेमा केही सुझावसमेत दिएको छ । यतिखेर प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम रहेको बताउँदै पौडेलले व्यवस्थित शौचालयको कमीका कारण महामारी फैलन सक्ने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

हालसम्म पुनर्निर्माणको खाका तयार नभएकाले देशभित्रका पूर्वाधार विकाससम्बन्धी दक्ष जनशक्तिलाई स्थानीय सरकारमार्फत प्रयोग गर्नुपर्ने एमालेले सुझाव दिएको छ । त्यस्तै अस्थायी आवास निर्माणका लागि सरकारले प्रतिपरिवार घोषणा गरेको ५० हजार रूपैयाँको विलम्वमा पनि एमालेले झकझक्याएको छ ।

भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा मनोपरामर्शदाता परिचालन गर्न, ढलेका घर मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि प्रभावित क्षेत्र उठाउन एमालेको सुझाव छ । सो भूकम्पमा परी १ सय ५७ जनाको ज्यान गएको थियो भने २ सय ७५ जनाभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट १ लाख ८० हजार भन्दा बढी नागरिक प्रत्यक्षरूपले प्रभावित बनेका छन् ।

तथ्याङ्क अनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने २४ हजार ७ सय ७ घर आंशिकरूपमा क्षति भएका छन् । रुकुममा १६ हजार ५ सय ७० निजी घरहरू पूर्णरूपमा ध्वस्त भएका छन् भने ९ हजार ९ सय ६१ आंशिक क्षति भएको आंकलन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७