शेखर कोइरालाको आरोप : सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू हुन्

‘राजनीतिज्ञ, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन, एनसेलमा त्यही भयो’


२३ मंसिर २०८०, शनिबार
shekhar

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाएका छन् । आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
‘ब्यांकर्सहरू मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्या छु–आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए’, उनले भने ।

देश आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको नेता कोइरालाले टिप्पणी गरेका छन् । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, यो कसरी हुन्छ ?’, उनले भने । सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाएका छन् ।
‘राजनीतिज्ञ, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन, एनसेलमा त्यही भयो’
नेता डा. शेखर कोइरालाले एनसेल प्रकरणमा राजनीतिज्ञहरुको संलग्नता रहेको आरोप लगाएका छन् । उनले चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२ औं अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो दाबी गरेका हुन् ।

‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरुसँगै जोडिएको छ’, उनले भने, ‘जतिसुकै जसले जे भने पनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन । एनसेलको प्रकरण पनि त्यही हो ।’ देशमा सबै चिज अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको कोइरालाको टिप्पणी छ । फरक प्रसङ्गमा उनले पार्टीमा व्यक्तिवाद हावी भएको बताउँदै चितवन कांग्रेसको हातबाट उम्केको टिप्पणी गरे । उनले गत स्थानीय तहको निर्वाचनको अवस्थालाई इंगित गर्दै यस्तो बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७