मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’ : ‘एक्सन’ मा नगए ‘बोल्ड स्टेप’ चाल्छु


५ पुष २०८०, बिहीबार
prachanda 1 9 scaled
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको छ । आज (बिहीबार) बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारको नेतृत्व गरेको एक वर्षको कामको समीक्षा भएको हो ।

सरकारले राम्रै काम गरेको माओवादीको निष्कर्ष छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलबीच भएको सहमति अनुसार आफ्नो कार्यकाल एक वर्ष रहेको बताएका छन् । उनले बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने बताएका छन् ।

‘सरकारको काम राम्रै छ । गठबन्धनमा भएको सहमति अनुसार कार्यकाल एक वर्ष बाँकी छ । यो वर्ष काममा तीव्रता दिनुपर्छ । कामको गियर बढाउँछु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले जानकारी दिए । प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए । गठबन्धनमा दुई वर्षपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भद्र सहमति रहेको नेताहरू बताउँछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ठोस कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएको बताएका छन् । सरकार गठनको एक वर्षपछि मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्ट प्रधानमन्त्रीले ठोस योजनासहित अघि नबढे ‘बोल्ड स्टेप’ गर्ने बताएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सबैलाई मैले ठोस कार्ययोजनासहित एक्सनमा जानु भनेको छु । भएन भने बोल्ड स्टेप चाल्छु भनेको छु ।’ यद्यपि, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा ठोस रूपमा छलफल नभएको उनले बताएका छन् ।

सापकोटाले भने, ‘पुस १० गते एक वर्ष पुग्दैछ । ११ गते प्रगति र आगामी योजना प्रधानमन्त्रीले ल्याउनु हुन्छ । सरकारको समीक्षा विभिन्न ढंगबाट भइरहेको छ ।’ प्रधानमन्त्रीले बैठकमा सरकारलाई प्रभावकारी बनाउन अबको नीति तथा कार्यक्रम र बजेटमा पनि आमूल परिवर्तन गर्नुपर्ने सोचेको ब्रिफिङ गरेका छन् । आफूले थालेको भ्रष्टाचारविरोधी अभियानलाई गति दिएर नयाँ फाइल खोल्ने योजना प्रधानमन्त्रीले सुनाएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७