गौतमबुद्ध विमानस्थल सरकारकै कारण सञ्चालन हुन सकेन : विष्णु पौडेल


६ पुष २०८०, शुक्रबार
bishnu paudel 1 1536x1023 1

बुटवल । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भइरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उनले सरकार पूर्णरुपमा असफल भएको बताए । ‘बनेको विमाननस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न सक्दैन, सरकार पूर्णरुपमा असफल भएको छ’ पौडेलले भने ।

रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै पौडलले मुलुकमा देखिएको विद्यमानन संकटको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा परेको भन्दै उनले अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवारी सरकार भएको बताए । ‘राष्ट्रिय संकटको जिम्मेवारी संघीय सरकारले, प्रदेशमा देखिएको संकटकोे जिम्मेवार प्रदेश सरकारले र स्थानीय तहमा देखिएका समस्याहरुको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ’ पौडेलले भने, ‘सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन मिल्दैन ।’

बुटवल–नारायणगढ सडक निर्माणमा भइरहेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै उनले सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाए । ‘यो सडक निर्माणमा धेरै विलम्व भयो, अव धेरै विलम्व नगरियोस्’ उनले भने । पुर्वअर्थमन्त्री पौडेलले दाउन्नेमा सुरुङमार्ग पनि बनाइने बताए ।

प्रादेशिक अस्पतालको टेण्डर आह्वान प्रक्रियामा भैरहेको ढिलाईप्रति पनि उनले आपत्ति जनाए । पौडेलले अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गरे । बुटवलको ६ लेन सडक निर्माणमा भैरहेको ढिलाईले बुटवललाई गिज्याइरहेको भन्दै उनले सरकारमा बस्नेहरुले रमिता हेर्ने बाहेक केही गर्न नसकेको बताए ।

समग्रतामा बुटवल र सिंगो रुपन्देहीलाई विकासको रोलमोडलको रुपमा अगाडि बढाउने अभियानमा आफूले जनप्रतिनिधिको हैसियतले जनताप्रतिको विश्वास टुट्न नदिने भन्दै निर्माणाधीन विकासका सबै आयोजना पूरा गरेरै छाड्ने बताए । मुलुकको पुँजीगत खर्च लथालिङ्ग भएको, राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढ्न नसकेको पौडेलले बताए । तिनाउ–दानव कोरिडोर सडक निर्माणका लागि छुट्याइएको बजेट पनि वर्तमान सरकारले कटौती गरेको पौडेलको दावी छ । सुशासन, विकास, राजश्व परिचाललगायत कुनै पनि दृष्टिकोणले सरकारले राम्रो काम गर्न नसकेको उनको भनाई छ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताए । ‘विकास निर्माण भन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने चिन्ता सत्तामा रहेका दलहरुमा छ’, उनले भने । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारीलगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७