संवैधानिक इजलासको काम छैन, परिषद्लाई बेकामे बनाइयो : पूर्व प्रधानन्यायाधीश कार्की


६ पुष २०८०, शुक्रबार
harikrishna

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति समेत सधैँ विवादमा परिरहने भएकाले सो परिषद्को संरचना नै सुधार गर्नुपर्ने उनको तर्क थियो ।

आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तिलाई सधैँ विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ ? भनि प्रश्न समेत गरे ।
उनले संवैधानिक परिषद् र संसदीय सुनुवाई समितिले पनि आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको बताए । पूर्व प्रधानन्यायाधीश कार्कीले छुट्टै संवैधानिक इजलास हुनुपर्ने प्रस्ताव पनि गरे । हाल भइरहेको संवैधानिक इजलासको कामै नभएको उनको जिकिर छ ।

पूर्व प्रधानन्यायाधीश कार्कीले आफूले संविधान निर्माण गर्ने बेलामा पनि छुट्टै संवैधानिक अदालतको कुरा गरेको र अहिले पनि सोही अडानमा अडिग रहेको समेत बताए । संवैधानिक परिषद् आवश्यक छ कि छैन भन्ने प्रश्न उठेको बताए ।

उनले भने, ‘त्यहाँ को–को बस्नुपर्ने हो ? कसरी बस्नुपर्ने हो, त्यो संवैधानिक परिषद्को परिकल्पना ठूलो उद्देश्यले राखेको थियौं । देशको प्रधानन्यायाधीश समेत नियुक्ति गर्ने अधिकार दिएका थियौं । न्यायपालिकाका प्रमुख, कार्यपालिकाका प्रमुख, व्यवस्थापिकाको प्रमुख, विपक्षी दलका प्रमुखलाई समेत राखेर बनाउनुको उद्देश्य जुन निष्पक्षतापूर्वक कार्य सम्पादन गर्नुपर्ने हो भनेर राखिएको हो । तर, त्यो भयो त ? तीन वर्षसम्म बैठक नै राख्न सकेन ? संवैधानिक परिषद् रिक्त भए । यो परिस्थिति होला भन्ने भए त्यो परिकल्पना गरिन्थ्यो र ? यस्तो परिकल्पना गरिँदैन ।’ संसदीय सुनुवाइ समिति र न्यायपरिषद्को संरचनामा समेत प्रश्न उठेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७