राष्ट्रियसभा निर्वाचन : कोशी कांग्रेसबाट सिटौला, कोइराला र रिजालसहित ७० जना सिफारिस


१० पुष २०८०, मंगलवार
congresh koshi

मोरङ । सत्तारुढ नेपाली कांग्रेस कोशी प्रदेशले राष्ट्रियसभा निर्वाचनका लागि ७० भन्दा बढीको नाम सिफारिस गरेको छ । सोमबार बसेको प्रदेश समिति बैठकले आकांक्षीहरू सबैको नाम सिफारिस गरेको हो ।

राष्ट्रियसभा आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या देखिएपछि प्रदेश समितिले सबै नेताहरूको नाम सिफारिस गरेको बताइएको छ । राष्ट्रिसभामा कोशी कांग्रेसले अन्य कोटाबाट एक सिट पाउने छ । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको आगामी फागुन २० गते पदावधि सकिँदै छ ।

कोशी कांग्रेसले दलित, अल्पसख्यक, महिला कोटाबाट नै २२ जनाभन्दा बढीको नाम सिफारिस गरेको छ भने अन्य कोटाका ४८ जनाको नाम सिफारिस गरेको छ । जिल्ला–जिल्लाबाट आएका नामहरूलाई प्रदेशले अनुमोदन गरेर पठाएको कांग्रेसका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए । ‘हामीले जिल्लाबाट नाम मगाएका थियौं’, राईले भने ‘जिल्लाबाट सिफारिस भएर आएका नामलाई जस्ताको त्यस्तै पठाएका छौं ।’

कांग्रेसबाट सिफारिस हुनेमा कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला संग्रौला, रुक्मिणी कोइराला लगायत छन् । पाटी भित्रको योगदान तथा उनीहरूको अहिले र पहिलेको पद हेरेर सिफारिस गरिएको महामन्त्री राईले बताए । चुनावमा पराजीत बनेका नेताहरूलाई राष्ट्रियसभामा लैजानु हुँदैन भन्ने आवाज कांग्रेसकै नेताहरूले उठाइरहेका बेला कोशीबाट भने गत चुनावमा हार व्यहोरेका नेताहरूलाई प्राथमिकता दिइएको छ ।

कृष्णप्रसाद सिटौला र सुजाता कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएका थिए । गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित बनेका थिए । यस्तै मोरङ क्षेत्र नम्बर २ बाट कोइराला एमालेका ऋसिकेष पोख्रेलसँग पराजित भएका थिइन् । ‘हामीले जति जनाको पठाए पनि यहाँ कृष्णप्रसाद सिटौलाको सम्भावना बढी छ’, कांग्रेसका प्रदेश स्तरका एक नेताले भने, ‘अरूको नाम तपाईंहरूको पनि पनि पठाएका थियौं भन्नका लागि मात्रै हो ।’

सभापति शेरबहादुर देउवा नै सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउन लबिङ गरिरहेकाले पनि कोशीबाट अन्य नेताको सम्भावना नरहेको ती नेताले बताए । ‘सभापतिले आफूसँग मिलेकाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनु भयो’, ती नेताले सुनाए, ‘सिटौला पनि अहिले सभापतिसँग नै नजिक रहनु भएकाले उहाँको व्यवस्थापन गर्नु पर्ने अवस्था छ ।’ कोशीमा अन्य कोटाबाट माओवादी कि विना पोख्रेल र कांग्रेसका रमेशजंग रायमाझीको पदावधि सकिँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७