एमालेमा फर्किन वामदेव आतुर, भने, ‘हाइलेभलको निर्णय पर्खेर बसेको छु’

‘मलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिनुस्’


२४ बैशाख २०८१, सोमबार
bamdev gautam

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन तयार रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे ।

‘एक पटक उहाँले बोलाउनु भएको थियो । तर म गइनँ । पछि फेरि बोलानु भयो, त्यति बेला भने गएँ र भने–कमरेड, हामी फेरि फर्कन्छौँ । मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? जवाफमा अध्यक्ष ओलीले तपाईंहरुको बारेमा हाइलेभल कमिटीले निर्णय गर्छ भन्नु भयो ।’

गौतमले ७–८ महिना बितिसके पनि आफूले अझै पनि हाइलेभलको निर्णय पर्खिराखेको बताएका छन् । ‘मैले गल्ती कमजोरी गरेको छु । मान्छेबाट गल्ती कमजोरी हुन्छ । त्यसबारे आत्मालोचना गर्छु । रियलाइजेसन गर्नुपर्छ, मैले गरेँ,’ उनले भने । पार्टी दुईतिर भएको बेला ‘बीचमा बस्नु हुन्न, तपाईंलाई घाटा लाग्छ’ भनेर अध्यक्ष ओलीले भनेको कुरा पनि उनले स्मरण गरे । उनले थपे, ‘आज मलाई घाटा लागेको छ । तपाईंले सुरुमा बोलाउनु हुँदा नै जानुपर्ने थियो ।’

उनले दुई वटा अध्यक्ष दुईतिर भएपछि आफूलाई चित्त दुखेको पनि स्पष्ट पारेका छन् । उनले एक पक्षतिर लागेर अर्को पक्षलाई गाली गर्न आफूले नचाहेको पनि जिकिर गरे । ‘म कतैतिर पनि लागिनँ । तर दुवैतिरकाले भने– पार्टी फुटाउने वामदेव हो । मैले त मिलाउने फोरम बनाएको थिएँ । कसैले पनि साथ दिनुभएन, मैले एक्लै के गर्नु र ?,’ गौतमले गुनासो गरे, ‘मैले पार्टी फुटाएको होइनँ । ५४ सालमा पनि निष्काशन गरेपछि मात्र अर्को पार्टी बनाइयो । पछि रियलाइजेसन गरेर आएँ ।’

आफू अझै पनि पार्टीको जिम्मेवार पूरा गर्न सक्षम रहेको गौतमले दावी गरे । उनले २०८४ सालको निर्वाचन ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाएर अघि बढ्न अध्यक्ष ओलीलाई सुझाए । यसका लागि कमाण्डर बन्न आफू तयार रहेको बताए । ‘मैले कमरेड केपीलाई भनें, म ७५ वर्षको छु । उहाँले तपाईं ७६ वर्ष पुग्नुभयो भन्नु भयो । मैले ल ठिक छ तपाईंको नजरमा बढी भएर के भयो त ? अझै पनि पार्टीले दिएको जिम्मेवारी सबै पूरा गर्न सक्छु,’ उनले भने, ‘मलाई कमाण्डर बनाउँदा पार्टी फेरि फुटाउँछ भन्ने लाग्छ भने मसँगै अर्को मान्छे खटाए पनि भयो त ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७