वनमन्त्रीको गुनासो : कर्मचारीले टेर्दैनन्, राजीनामा दिनेबारे सोचिरहेको छु


१७ पुष २०८०, मंगलवार
mahato

काठमाडौँ । वनमन्त्री वीरेन्द्रकुमार महतोले कर्मचारीले टेर्दै नटेर्ने गरेको गुनासो गरेका छन् । व्यवसायी समेत रहेका कांग्रेस सांसद दीपक खड्काले आफ्नो रिसोर्टसम्बन्धी फाइल चार वर्षदेखि वन मन्त्रालयले किन अड्काएर राखेको भनेर बुझ्न जाँदा उल्टै मन्त्री महतोले गुनासो सुनाएका हुन् ।

मन्त्रीकै कुर्सीमा बसेर मन्त्री महतोले भने, ‘मैले एक्सन लिने वा राजीनामा दिनेबारे पनि सोचिरहेको छु । कर्मचारीले टेर्दैन भने म पिट्न जानु ? उसले साइन गरेपछि मैले साइन गर्ने हो ।’ गुनासो सुनाउन गएका खड्कालाई नै उल्टै गुनासो सुनाएका मन्त्रीले ६ महिनादेखि मन्त्रालयमा यस्तो समस्या धेरै भएको बताए ।

खड्काको गुनासोको समर्थन गर्दै उनले भने, ‘यो मेरो लागि नयाँ प्रक्रिया होइन । ६ महिनादेखि यस्तै भइरहेको छ यो मन्त्रालयमा । किन भन्दा जसले लगानी गरेको हुन्छ, अन्तिम चरणमा फाइल रोकिएपछि पीडा हुन्छ नि । उहाँ जस्तो मान्छेलाई यस्तो छ भने अरुलाई कति पीडा हुन्छ भन्ने बुझ्न जरुरी छ ।’

मन्त्री महतोले मन्त्रालयका सचिवको नियत खराब हुँदा धेरैलाई समस्या भएको बताए । सचिवहरूले दबाब दिएपछिमात्रै हस्ताक्षर गरिदिने प्रवृत्ति बढिरहेको उनको आरोप छ । ‘सचिवजी यहाँ हुनुहुन्छ, मान्य ज्यू आएर प्रेसर गर्नुभयो अब उहाँले साइन गर्नुहुन्छ । तर सर्वसाधारण जनता आएको भए उहाँको कुरा नसुनिकन तपाईं भोलि आउनुस् भनेर चार वर्ष लाउँछ । कस्तो कर्मचारीतन्त्र छ ? मन्त्रीले रुलिङ गरेको कुरा सचिवले मान्दैन,’ उनले भने, ‘सचिवले रुलिङ गरेको कुरा विभागले मान्दैन । आज यति कुरा भयो अब भोलि हुन्छ भन्नुहुन्छ । म भन्छु भोलि हुन्छ भने अहिले किन हुँदैन । किन अड्काएको ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७