राष्ट्र निर्माणका लागि ठूलो होइन, असल मान्छे चाहिन्छ : प्रधानमन्त्री


१८ पुष २०८०, बुधबार
prachanda 3 1 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र इन्जिनियर एक आपसका परिपूरक भएको बताएका छन् । आज (बुधबार) नेपाल इन्जिनियर्स एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियरको भूमिका रहने बताएका हुन् ।

prachanda 1 1

उनले राष्ट्र निर्माणका लागि ठूलो नभई असल मान्छे चाहिने समेत बताए । उनले भने, ‘विकास र इन्जिनियर एक आपसका परिपूरक हुन् । देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायको भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउनेछ ।’

प्रधानमन्त्री प्रचण्डले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको उल्लेख गरे । उनले भने, ‘देशमा विकास निर्माणका कामहरू भइरहेका छन्, पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरत छ । यसका लागि राष्ट्रमा विज्ञान र प्रविधिको विकास तथा त्यसको उपयोगिताको आवश्यकता छ । यो सबै कार्यमा प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ। ’

उनले नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको जानकारी आफूले पाएको बताएका छन् । ‘तर्पाइहरूको यो चासो र मागलाई मैले सकारात्मक रूपमा लिएको छु । एशोसिएसनको यो मागलाई सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट सम्भव प्रयास गरिने विषय पनि म तपाईहरूलाई स्पष्ट पार्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकताका साथ आफ्नो कार्यसम्पादन गरिरहेको छ । मेरो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढिरहेको छ । यो लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी छ ।’

prachanda 2 1

आधुनिक विकासको मुख्य प्राथमिकता भनेको पूर्वाधार नै भएको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले भने,‘सडक, लोकमार्ग, उर्जा, विद्युत, सञ्चार, विमानस्थल, सिंचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सक्यौँ भने मात्र आर्थिक विकासको ढोका खुल्न सक्छ, जसको फलस्वरूप वृहत् आर्थिक पूर्वाधारको मार्ग पहिल्याउन सक्छ ।’

विद्यमान अवस्थामा ठूलो पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा भएको उनको भनाई छ । उनले भने,‘विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो । यसले समान्य रुपमा गतिलिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समयसीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनुभूति गरेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७