२२ वर्षपछि गायनमा फर्किए गुरुङ, नयाँ गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक (भिडियो)


२० पुष २०८०, शुक्रबार
Shasi Gurung1704455783

काठमाडौँ । गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आज सुन्धारास्थित एक चलचित्र भवनमा उनले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् ।

गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताए । ‘म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा आफूलाई यस क्षेत्रमा प्रस्तुत गर्नेछु’, उनले भने, ‘धेरै गीत गाएर स्थापित वा चर्चित भइँदैन भन्ने मैले बुझेको छु । थोरै तर स्तरीय गीतमार्फत आफ्नो दर्शकसँग साक्षात्कार हुन सकिन्छ ।’ गुरुङले आफूलाई मामाको प्रभावले गीत सङ्गीतमा अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

उक्त गीत प्रकाश सायमीले रचना गरेका हुन् भने सङ्गीत सिर्जना प्रविन बराइलीले गरेका छन् । गीतको श्रव्यदृश्यमा कुशल केसी र मुना भूर्तेलले अभिनय गरेका छन् । गीत हेर्दा आँखालाई शितलता दिएको र सुन्दा कर्णप्रिय लागेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताए । ‘म चलनचल्तीका गीतको सम्पर्कमा छैन । अहिले आइरहेका गीतमध्ये सशक्त शब्द र कर्णप्रिय सङ्गीत भएको गीत यो हो । यो गीत बाँचिरहने किसिमको बनेको छ’, उनले भने, ‘उहाँको गायन शैलीको ताजगी उस्तै छ । उहाँलाई निरन्तरता दिनुस् र यस्तै बाच्ने गीतसङ्गीत सिर्जना गर्नुहोस् भन्न चाहन्छु ।’

अमेरिकामा रहेका गायक ओमविक्रम विष्टले श्रव्यदृश्य सन्देश पठाउँदै गायक गुरुङलाई शुभकामना दिए । उनले भने, ‘उहाँ (गायक गुरुङ) सँग गीत गाउने मौका पाएको छैन । उहाँले गर्नुभएको सुरुआतले गीत सङ्गीतमा नयाँ आयाम थप्नेमा विश्वस्त छु । यो स्रोतासँगै सर्जकलाई पनि मनपर्ने गीत बनेको छ ।’

उक्त अवसरमा ‘बितेका पलहरु’ बोलको लिरिकल भिडियो समेत देखाइएको थियो । उक्त गीतमा भूषण खरेलले शब्द रचना र शक्ति बल्लभले सङ्गीत भरेका छन् । कार्यक्रममा गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल, सङ्गीतकार राजुसिंहलगायत सङ्गीतकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७