बुढानिलकण्ठका सब–इन्जिनियरसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा


२४ पुष २०८०, मंगलवार
Akhtiyar

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका तत्कालीन सब–इन्जिनियर टीकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज (मंगलबार) दुई जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । अख्तियारको टोलीले मंसिर १४ गते टिकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत उनले सेवाग्राहीसँग घुस लिएको प्रवक्ता थपलियाले बताए ।

घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा टीकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलेमतोमा घुस लिएको अख्तियारको दाबी छ । अख्तियारले सब इन्जिनियर टीकाराज राईलाई घुस रकम ८० हजार बिगो कायम गरी त्यस बमोजिमको जरिवाना र चार महिनादेखि ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ । यस्तै यसमा टीकाराजलाई अख्तियारले मुख्य अभियुक्त बनाए पनि रामचन्द्रलाई मतियारको रूपमा सजाय मागदाबी गरेको छ । उनलाई राष्ट्र सेवकलाई दिइने सजायको आधा सजाय दिन अख्तियारले मागदाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७