बाबु–छोराको अंशवण्डा विवादले चक्रवर्ती कलेजमा ‘खुकुरी काण्ड’, २४ जना पक्राउ


२४ पुष २०८०, मंगलवार
chakrawarti collage kanda

काठमाडौं । काठमाडौं बिजुलीबजारस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमीका दुई सञ्चालकबीच झडप भएको छ । झडपमा परी काठमाडौं–१० मध्यबानेश्वरका ६८ वर्षीय देवेन्द्र भण्डारी र शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी घाइते भएका छन् ।

घाइते भण्डारी नर्भिक अस्पतालमा भर्ना भएका छन् । रेग्मीको सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनामा २४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको परिसरले जानकारी दिएको छ । सोमबार राति करिब ११ बजे सञ्चालकहरूबीच झडप भएको थियो ।

सामान्य घाइते सुरज अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । भण्डारीलाई सिभिल अस्पतालबाट राति नै नर्भिक लगिएको हो । उनको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । भण्डारीलाई उनकै छोरासहितका व्यक्तिले आक्रमण गरेका थिए । ३२ वर्षीय छोरा निरज भण्डारीले एकेडेमीमै पुगेर बेल्चा प्रहार गरेको काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताएका छन् ।

चितवन भरतपुर घर भएका भण्डारी बाबु–छोराबीच उक्त एकेडेमीको सम्पत्तिबारे विवाद छ । ‘कसले कति शेयर पाउने भनी उनीहरूबीच सात-आठ वर्ष लामो विवाद देखिन्छ,’ खत्रीले भने । यो विषयमा कम्पनी रजिष्ट्रार कार्यालय तथा अदालतमा समेत लामो समय मुद्दा परिरहेको र विवाद नसुल्झिएको बुझिएको उनले बताएका छन् ।

सोही विवादको शिलसिशामा छोरा सुरजले युवाहरू भेला पारेर बाबुमाथि खुकुरीले आक्रमण गराएको खत्रीले बताए । सुरजसहित आक्रमणमा संलग्न रहेको आरोपमा २४ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको खत्रीले बताए । सुरूमा आक्रमणका लागि बाबु पसेको भन्दै सुरजले उनीमाथि आरोप लगाइरहेका छन् । भण्डारी बोल्न सक्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७