एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ ल्याए मात्र उत्तीर्ण


२५ पुष २०८०, बुधबार
see

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । आज (बुधबार) शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई चैत पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौँ,’ उनले भने ।

संसदमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने÷नहुने अन्योल रहेकाले अध्यक्ष शर्माले यो वर्ष परीक्षा हुने स्पष्ट पारेका हुन् । ’शिक्षा विधेयकमा १० को परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ । एसईई हुन्छ । परीक्षाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ,’ उनले भने ।

शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले वितरण गर्ने भएकाले केन्द्रबाट रुटिन सार्वजनिक गरिएको र व्यवस्थापन प्रदेशले गर्ने उनले बताए । ‘प्रश्नपत्र बोर्डले तयार गर्छ । प्रस्तावित विधेयक संसदमा छलफल भइरहेको छ । कन्फ्युज नहुन अनुरोध गर्छौं,’ उनले भने । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन हुने भएकाले परीक्षा हुने उनले बताए ।

‘जाजरकोट र रुकुमलगायतमा भूकम्प गयो । मानवीय भौतिक क्षति भयो । अब परीक्षाको केन्द्र राख्न उपयुक्त छ-छैन भनेर प्रअसँग भेट्यौ । केहीलाई अल्टरनेट गर्नपर्छ । नजिकैको अर्कोमा गर्ने तयारी भइरहेको छ । स्थानीय पालिका, जिल्ला समन्वय, सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल गरेको छ । परीक्षा सार्ने कुरा सुझाव आएको छैन,’ उनले भने ।

भूकम्पले विद्यार्थीको किताब हराए पनि हाल पुस्तक पुगिसकेको अध्यक्ष शर्माले बताए । ’पुस्तक कसैको एउटा हराएको छ । ५० प्रतिशतको पुस्तक थिएन तर अहिले पुगिसकेको छ । जाजरकोट र रुकुममा स्कुल खुलेको छ । पठनपाठन भएको छ । थप कक्षा चौरमा घाम तापेर पढाइएको छ,’ उनले भने । यस वर्षदेखि फेरि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उनले भने, ‘कतै पुरानो परम्परा फर्किन्छ कि भन्ने छ ।’ यसअघि एसईईमा ग्रेडिङ सिस्टम थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७