सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचन र टीआरसी मुख्य एजेण्डा


२९ पुष २०८०, आईतवार
satta

काठमाडौं । राष्ट्रियसभा निर्वाचन र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी) लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा गठबन्धनका उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिएका छन् ।

गठबन्धन दलका अर्का एक शीर्ष नेताको सचिवालयका एक सदस्यले भने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयमा छलफल गर्न र टीआरसी सम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले बैठकमा बोलाएको बताए । कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा विधेयक पेस हुने र पारित गर्ने बताएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले पनि शनिबार बैतडीको दोगडाकेदारमा आयोजित एक कार्यक्रममा संसदको आगामी अधिवेशनमा शान्ति प्रक्रियालाई टुंग्याउन विधेयक पारित गर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७